२२ भाद्र २०८१, शनिबार September 7, 2024

कैलालीमा १ लाख ४३ हजार बालबालिकालाई फाइजर खोप लगाइने

६ असार २०७९, सोमबार
कैलालीमा १ लाख ४३ हजार बालबालिकालाई फाइजर खोप लगाइने

धनगढी । सुदूरपश्चिम प्रदेशको तीन जिल्लाका ५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाइने भएको छ । पहिलोचरण अन्तर्गत कैलाली, कञ्चनपुर र डडेल्धुराका बालबालिकालाई फाइजर खोप लगाइने भएको हो ।
यहि असार ९ देखि १५ गतेसम्म ती उमेर समूहका बालबालिकालाई खोप लगाउन लागिएको हो । कैलालीमा सो उमेर समूहका जम्मा एक लाख ४३ हजार ९३४ जना बालबालिकालाई खोप लगाइने जनाइएको छ । मोहन्याल गाउँपालिकामा चार हजार ४४०, चुरे गाउँपालिकामा तीन हजार ९८०, गोदावरी नगरपालिकामा १६ हजार ५६९, घोडाघोडी नगरपालिकामा १४ हजार ४६४ जना बालबालिकालाई फाइजर खोप लगाइने जनाइएको छ ।
यसैगरी, गौरीगङ्गा नगरपालिकामा १० हजार ५००, बर्दगोरिया गाउँपालिकामा पाँच हजार ६५४, लम्कीचुहा नगरपालिकामा २२ हजार ४९, जानक गाउँपालिकामा पाँच हजार ११०, जोशीपुरमा चार हजार ६९९ बालबालिकालाई खोप लगाइने जनाइएको छ ।
यस्तै, टीकापुर नगरपालिकामा १३ हजार ७२६, भजनी नगरपालिकामा सात हजार ११८, कैलारी गाउँपालिकामा चार हजार ८३७ र धनगढी उपमहानगरपालिकामा ३० हजार ७७८ जना बालबालिकालाई फाइजर खोप लगाइने छ ।
असार ९ गतेदेखि बालबालिकालाईहरुलाई विद्यालयमै कोरोनाविरुद्धको खोप प्रदान गरिने सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । असार १५ गतेसम्म बालबालिकालाई फाइजर खोप लगाइने जनाइएको छ ।
सो उमेर समूहका विद्यालय नजाने बालबालिकालाई पनि अन्तिम दिन स्वास्थ्य संस्थामा खोप लगाउने सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत हेमराज खड्काले बताए ।
यो खोप सुरक्षित रहेकाले आ–आफ्ना बालबालिकालाई खोप लगाउन दिन मन्त्रालयले आग्रह गरेको छ । फाइजर खोपको प्रभावकारिता ९१ प्रतिशत रहेको छ । विश्व स्वास्थ्य सङ्गठनले आपतकालीन स्वीकृति दिएको फाइजर खोप बायाँ पाखुराको मासुमा लगाइन्छ । नेपालमा यसअघि फाइजरकै खोप १२ वर्षभन्दामाथिका बालबालिकालाई लगाइ सकिएको छ ।
गम्भीर बिरामी, उच्च ज्वरो भएका, दीर्घ रोगी लगायतकाले भने यो खोप लगाउन नमिल्ने जनाइएको छ । खोप लगाइसकेपछि कसैकसैलाई टाउको दुख्ने, आलस्य लाग्ने, जाडो हुने जस्ता समस्या देखिने गरेको पनि बताइएको छ । त्यसैगरी, एक हजारमध्ये एक जनालाई शरीर चिलाउने, बिमिरा, डाबर आउने जस्ता समस्या देखिने गरेको जनाइएको छ । दश लाखमध्ये खोप लगाएका एक जनालाई एनाफाइलेक्सिस हुने सक्ने खड्काले जानकारी दिए ।