२७ आश्विन २०८१, आईतवार October 13, 2024

धनगढी उपमहानगरको नवनिर्मित भवन प्रधानमन्त्री देउवाद्वारा उद्घाटन

४ असार २०७९, शनिबार
धनगढी उपमहानगरको नवनिर्मित भवन प्रधानमन्त्री देउवाद्वारा उद्घाटन

कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवन उद्घाटन गरेका छन् । शुक्रबार सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले धनगढी उपमहानगरको नवनिर्मित प्रशासनिक भवन एक कार्यक्रमका बीच उनले उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने प्रतिवद्धता जनाएका छन् ।
‘डडेल्धुरामा मेडिकल कलेज बनाउने भनेपछि कैलालीमा गेटा मेडिकल कलेज सञ्चालन हुनुपर्छ भनेर दबाब बढेको छ’ उनले भने, ‘त्यसलाई प्रतिष्ठान बनाइनेछ । काठमाडौ गएलगत्तै प्रतिष्ठान ऐन ल्याई यसै वर्षदेखि सञ्चालनमा ल्याइन्छ ।’
कार्यक्रममा प्रधानमन्त्री देउवालाई धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले गेटा मेडिकल कलेजलाई विश्वविद्यालय वा प्रतिष्ठान बनाउन आग्रह गरेका छन् ।
उनले सुदूरपश्चिम प्रदेशको स्वास्थ्यमा ठुलो प्रभाव पर्ने भन्दै गेटालाई पहिलो प्राथमिकतामा विश्व विद्यालय नभए प्रतिष्ठान बनाउन आग्रह गरेका हुन् ।
‘गेटा मेडिकल कलेज निमार्ण भइरहेको छ । हरैया औद्योगिक क्षेत्र अझै बन्न सकेको छैन’ उनले भने ‘यी समस्याहरू हल हुने हामीले अपेक्षा गरेका छौँ ।’
साथै उनले धनगढी दिपायल फास्ट ट्याक निर्माणमा पनि चासो दिन आग्रह गरेका थिए । हमालले सुरुङ मार्गको सपना देखाउने तर प्रक्रिया अगाडी नबढाउने परम्पराको अन्त्य हुनुपर्ने बताएका थिए । धनगढीको सबै भन्दा ठुलो समस्या डुबान रहेको भन्दै उनले त्यसको लागि उपमहानगरपालिकाले काम गरिरहेको बताएका थिए ।
२०७५ साल देखि २०७८ सालको चैत्र मसान्तमा सम्पन्न ५ तले नवनिर्मित भवन ७ करोड २३ लाख ४५ हजार को लागतमा निर्माण भएको हो ।