कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपियाँ बजेट प्रस्तुत गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले बुधबार प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट प्रस्तुत गरेका हुन् । सरकारले कुल बजेटमध्ये चालूतर्फ १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार (३३.४६ प्रतिशत) र पूँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार रुपियाँ (६५.७४ प्रतिशत) बजेट विनियोजन गरेको छ ।
यसैगरी, सरकारी वित्तीय हस्तान्तरणतर्फ एक अर्ब ३६ करोड ४० लाख (३.७१ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ ३० करोड रुपियाँ (०.८२ प्रतिशत) बजेट विनियोजन भएको मन्त्री रावलले बताए ।
आर्थिक मामिला तथा योजना मन्त्री रावलले प्रस्तुत गरेको बजेटमा सडक पूर्वाधार, कृषि क्षेत्र, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रलाई विशेष ध्यान दिँदै बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले सडक पूर्वाधारमा ५ अर्ब बढी बजेट विनियोजन गरेको छ । सडक पूर्वाधारका लागि प्रदेश सरकारले ५ अर्ब ६० करोड ११ लाख बजेट विनियोजन गरिएको हो ।
यसैगरी शिक्षा क्षेत्रका लागि एक अर्ब २३ करोड, ७३ लाख रुपिया बजेट विनियोजन गरेको छ । शिक्षाको गुणस्तर सुधार, आधुनिक पूर्वाधार निर्माण र शैक्षिक जनशक्तिको क्षमता सुधारका लागि प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रमअन्तर्गत उक्त बजेट विनियोजन भएको हो ।
आगामी आर्थिक वर्षका लागि स्वास्थ्य सेवा सुधारका लागि १ अर्ब ६ करोड २६ लाख बजेट विनियोजन गरिएको छ ।
यसैगरी पर्यटकीय क्षेत्र खप्तड तथा धार्मिक पर्यटकीय क्षेत्रको विकास तथा प्रवद्र्धका लागि ३ करोड बजेट विनियोजन गरेको छ ।
यसैगरी प्रदेशमा १६ सय वटा बोरिङ निर्माण सँगै कृषि तथा सहकारी क्षेत्रका लागि ३ अरब १० करोड, ३६ लाख रुपियाको बजेट विनियोजन गरिएको छ ।
संचार क्षेत्रका लागि सुदूरपश्चिम सरकारले १ करोड २० लाख बजेट विनियोजन गरेको छ ।
आम संचार एवम पत्रकारीता क्षेत्रको क्षमता विकास मिडिया सेन्टरको भवन मिर्माण, पत्रकार महासंघ अछाम र बझाङको भवन निर्माण, एफ एम रेडियोलाई पुँजीगत अनुदान, पत्रकारको स्वास्थ्य उपचारको लागि अक्षयकोष स्थापना गर्न, लोक कल्याणकारी विज्ञापनका लागि उक्त रकम विनियोजन गरेको हो ।
यसैगरी बाढी पहिरोबाट प्रभावित क्षेत्रका लागि १ अर्ब १२ करोड बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री रावलले जानकारी दिए ।