कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाको हरेक वडा क्लिनिकबाट निःशुल्क स्वास्थ्य चेकजाँच परिक्षण हुने भएको छ ।
धनगढी उपमहानगरपालिका र भाटभटेनी सुपरमार्केट बीच भएको सम्झौता अनुसार हरेक वडा क्लिनिकबाट महिनाको एक दिन निःशुल्क स्वास्थ्य चेकजाँच परिक्षण हुने भएको हो । बुधबार धनगढी उमहानगरपालिकाका मेयर गोपाल हमाल र भाटभटेनी सुपरमार्केटका प्रवन्ध निर्देशक मीनबहादुर गुरुङ बिच सम्झौता भएको हो । उपमहानगरको वडा नम्बर १ देखि १९ वडासम्म विशेषज्ञ डाक्टर सहितको निःशुल्क स्वास्थ्य सेवा दिनेगरि धनगढी उपमहानगरपालिका र सुपरमार्केट बीच पाँच वर्षका लागि सम्झौता भएको हो ।
कार्यक्रममा भाटभटेनी सुपरमार्केटका प्रबन्ध निर्देशक गुरुङले आफू सुदूरपश्चिम प्रदेशमा धेरै पहिल्यैदेखि स्वास्थ्य सेवामा सहयोग गर्दै आएको बताए । उनले आफ्नो र श्रीमतिको नामबाट स्थापना गरेको छात्रवृति कोषबाट सुदूरपश्चिमका दुई जना विद्यार्थीलाई एमबीबीएस पढ्न सहयोग गरेको बताए । आर्थिक रुपले विपन्न तथा जेहेन्दार दार्चलाकी पुजा बम र बैतडीका बसन्तराज जोशीलाई पूर्ण छात्रवृति सहित एमबीबीएस पढाएको उनले बताए । हाल पुजा बम गोकुलेश्वर र जोशी काठमाण्डौं प्रसुती गृहमा एमडी गरिरहेको प्रबन्ध निर्देशक गुरुङले बताए ।
उनले सुदूरपश्चिम प्रदेशबासीहरु अझै पनि स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको बताउँदै आफ्नो सानो सहयोगले दुरदराजमा रहेको गरिब घरपरिवार तथा स्वास्थ्य सेवाबाट वञ्चित रहेका व्यक्तिलाई राहत पुग्ने बताए ।
कार्यक्रममा नगरप्रमुख गोपाल हमालले प्रबन्ध निर्देशक गुरुङ प्रति आभार व्यक्त गरेका थिए । नगरप्रमुख हमालले वडा क्लिनिकबाट निःशुल्क स्वास्थ्य चेकजाँच परिक्षण सरु भएपछि आर्थिक रुपले विपन्न परिवारलाई सहयोग पुग्ने बताए ।
आगामी सावन १ गते देखि वडा क्लिनिकबाट दिइने निःशुल्क स्वास्थ्य चेकजाँचमा एकजना जनरल फिजिसिएन र एक जना स्त्री रोग विशेषत्र सहितको टोली रहने छ । यसका साथै भिडियो एक्सरे, इसीजी लगायतका सेवा रहने जनाइएको छ ।