हसुलिया । बालविकास शिक्षक समिति र नेपाल विद्यालय कर्मचारी परिषदद्वारा कैलारी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ ।
सोमबार समिति र परिषदले संयूक्त रुपमा बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरि गाउँपालिकाबाट थप सेवाको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्टमा अतिथि गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी र प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष दिपेन्द्र बहादुर बम रहेका थिए ।
कार्यक्रममा बालविकास शिक्षक समितिले कैलारी गाउँपालिकाको शिक्षा शाखा र नेपाल शिक्षक महासंघलाई ६ बुँदे मागसहित ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापनपत्रमा गाउँपालिकाबाट पाइने सेवासुविधा कटौटी नगरियोस्, १५ प्रतिशत सेवा सुविधा बाहेक थप सेवा सुविधा गाउँपालिका स्तरीय गराइयोस्, गाउँपालिका स्तरीय बालविकास शिक्षक दरबन्दीलाई स्थायी गर्नुपर्ने माग राखेका छन् । त्यस्तै गाउँपालिका स्तरीय बालविकास शिक्षकका बिरामी विदालाई सुनिश्चित गर्नुपर्ने, बालविकास कक्षाकोठा व्यवस्थापन गर्नु पर्ने र महंगी भत्ताको व्यवस्था गर्नुपर्ने माग राखिएको छ ।
त्यसैगरी नेपाल विद्यालय कर्मचारी परिषद पनि सात बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ । परिषदले कैलारी गाउँपालिकामा कार्यरत विद्यालय कर्मचारीको रोजगारीको सुरक्षा गर्नु पर्ने, विद्यालय कर्मचारीको तह (का.स., खरिवार र ना.सु.) अनुसारको पद र तलबमान एकिन गर्नुपर्ने, आ. व. २०७९/२०८० बजेट वक्तव्य अनुसार १५ प्रतिशत वृद्धि तलबको सुनिश्चिता गर्नुपर्ने माग राखेको छ ।
त्यस्तै हाल नेपाल सरकारले तोकेको प्रचलित न्यूनतम तलब÷स्केल र महगी भत्ता यसै आर्थिक वर्ष देखि प्राप्त गर्ने सुनिश्चतता गर्नु पर्ने, आ. व. २०७९/२०८० को कर्मचारीको तलब÷भत्ता संघीय सरकारले नै दिने व्यवस्थाको लागि पहल गर्नुपर्ने, विद्यालय कर्मचारीको दरबन्दीलाई स्वीकृत दरबन्दीमा परिणत गरी कार्यरत कर्मचारीलाई स्थानिय निकायबाट पदपूर्ति गर्नुपर्ने र ६० वर्ष पुरा गरी अवकाश पाएका विद्यालय कर्मचारीहरुको हकमा कानूनमा व्यवस्था गरी सेवा सुविधा उपलब्ध गराउनु पर्ने माग राखेको छ ।
कैलारी गा.पा नेपाल विद्यालय कर्मचारी परिषदका अध्यक्ष सन्जुकुमार चौधरीले कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीलाई बुझाएका थिए । ज्ञापनपत्र बुझदै अध्यक्षले शिक्षकहरुको मागलाई विशेष ध्यान दिदै गाउँपालिकाको नीति तथा कार्यक्रममा समावेश गरिने बताए ।
बालविकास बालविकास शिक्षक समितिका मायारानी चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन धनपति चौधरीले गरेकी थिइन् ।