धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले २०७९ सालको सार्वजनिक बिदाको सूचना प्रकाशित गरेको छ । २०७८ चैत २२ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरेको हो ।
राजपत्रमा प्रकाशन गरिएको सूचनाअनुसार तीन पर्वमा प्रदेशका सबै जिल्ला र अन्य तीन पर्वमा केही जिल्लामा गरी ६ दिन सार्वजनिक बिदा हुने छ । प्रदेश सरकारले यसवर्ष भदौ १ गते ओल्के पर्वमा पनि बिदा दिने निर्णय गरेको छ । विगतका वर्षमा ओल्के पर्वको बिदा नदिइएको भन्दै प्रदेशवासीले विरोध गरेका थिए ।
यस्तै भदौ १७ गते गौरा पर्वको अवसरमा बिदा दिने निर्णय प्रदेश सरकारले गरेको छ । १८ गते भने संघीय सरकारले नै गौरा पर्वको अवसरमा बिदा दिएको छ । माघ १ गते संघीय सरकारले बिदा दिएकोमा माघ २ गते माघीको थप एक दिन सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रकाशन गरेको प्रदेश राजपत्रमा उल्लेख छ ।
यस्तै भदौ १९ गते कैलाली र कञ्चनपुरमा अतवारी पर्वको अवसरमा बिदा दिइएको छ भने पुस ८ गते भुवा पर्वको अवसरमा बझाङ, अछाम, बाजुरा र डोटी तथा चैत १ गते कैलाली र कञ्चनपुरमा खखडेहरा पर्वको अवसरमा बिदा दिने प्रदेश सरकारले निर्णय गरेको छ ।