१७ जेष्ठ २०८३, आईतवार May 31, 2026

वडा अध्यक्षको सह्रानीय कार्य, विहेको खर्च कटाएर कुकुरका लागि आश्रय स्थल

१ जेष्ठ २०८२, बिहीबार
वडा अध्यक्षको सह्रानीय कार्य, विहेको खर्च कटाएर कुकुरका लागि आश्रय स्थल

धनगढी, १ जेठ । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गजेन्द्र शाहीले आफ्नो विहेको खर्च कटाएर कुकुर र चराका लागि आश्रय स्थल सञ्चालनमा ल्याएका छन् ।


सडक कुकुर राख्नका लागि उनले डेढ लाखको लगानीमा धनगढीको नेपाल बैंक नजिक आश्रय स्थल सञ्चालनमा ल्याएका हुन् । उनले आफ्नो विहेको खर्च कटाएर सडक कुकुरका लागि आश्रय स्थल निर्माण गरेको बताए । ‘कुकुरलाई पनि बाँच्न पाउने अधिकार छ’ शाहीले भने, ‘हामीले कुकुरलाई माया गरेमा, राम्रो स्याहार गरेमा कहिल्यै बौलाउने छैनन् ।’


वडा अध्यक्ष शाहीले आश्रयस्थलमा रहेको कुकुरलाई मानिसहरुले आफ्नो जन्मदिन वा अन्य शुभ अवसरको बेला खाना दिन सक्ने बताए । कुकुरलाई खाना र पानी राख्नका लागि पनि व्यवस्था गरिएको छ ।


मनकारी व्यक्तिको रुपमा परिचित शाहीले कोरोना महामारीको क्रममा भारतबाट फर्केकाहरुलाई निःशुल्क खाना खुवाउने अभियान चलाएका थिए । यसैगरी, उनले धनगढीमा कपडा बैङ्कसमेत सञ्चालन गरेका थिए । कुकुर र चराका लागि आश्रय स्थल सञ्चालनमा ल्याएसँगै वडा अध्यक्ष शाहीको सह्रानीय कार्य भन्दै चर्चा भइरहेको छ ।