धनगढी, २८ बैशाख । स्थानीय सेवा ऐन ल्याउन माग गर्दै स्थानीय तहका कर्मचारीहरु आन्दोलित भएका छन् ।
कर्मचारीहरु आन्दोलित भएपछि सुदूरपश्चिम प्रदेशस्थित स्थानीय तहको कामकाज प्रभावित भएको छ । कर्मचारीहरुले प्रदेश सभामा गत माघमै दर्ता भएको विधेयक प्रदेश सभाबाट पारित गर्नुपर्ने माग राखेका छन् । उनीहरुले बैशाख २८ गतेदेखि विधेयक पारित नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
यसैबीच आइतवार मुख्यमन्त्री कार्यालय अगाडि धर्ना समेत दिइएको छ । विहान ९ बजेदेखि ११ बजेसम्म मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिएको संघर्ष समितिका संयोजक झलक दौल्यालले बताए । स्थानीय सेवा ऐन ल्याउन पटक–पटक आग्रह गर्दा पनि नल्याइएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको उनको भनाइ छ ।
सुदूरपश्चिमका ८८ वटै स्थानीय तहका कर्मचारीहरू आन्दोलन गर्न धनगढी आइपुगेका छन् । प्रदेश सरकारले ऐन नल्याउँदा लामो समयसम्म एउटै स्थानीय तहमा काम गर्नु परेको र विभिन्न किसिमका समस्या झेल्दै आएको कर्मचारीको गुनासो रहेको छ ।
यसैबीच स्थानीय तहका कर्मचारीहरुले सम्बन्धित पालिका प्रमुखलाई ज्ञापनपत्र समेत बुझाएका छन् । माग सम्बोधनको लागि दवाव दिने उद्देश्यले पालिका स्तरमा पनि ज्ञापनपत्र बुझाएका हुन् ।
कैलालीको कैलारी गाउँपालिकामा कार्यरत कर्मचारीहरुले पालिका अध्यक्ष राजसमझ चौधरी र प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीलाई ज्ञापनपत्र बुझाएका हुन् ।