धनगढी, २८ बैशाख । नेपाली काँग्रेसको भातृ संगठन नेपाल थारु संघ कैलालीको प्रथम जिल्ला अधिवेशन कैलारी गाउँपालिकाको हसुलियामा सम्पन्न भएको छ ।
प्रथम अधिवेशनले पुरानै कार्यसमितिलाई मान्यता दिएको छ । जसको अध्यक्षमा लक्ष्मीनारायण चौधरी, उपाध्यक्षमा मायाकुमारी चौधरी, सचिवमा चुन्नीराम चौधरी, सहसचिवमा दिनेशकुमार चौधरी र कोषाध्यक्षमा पार्वतीदेवी चौधरी रहेका छन् ।
तदर्थ समिति कैलाली जिल्ला अध्यक्ष लक्ष्मी नारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मन्त्री उदय शमशेर राणा प्रमुख अतिथि रहेका थिए । उद्घाटन शत्रमा सम्बोधन गर्दै उनले नेपाल थारु संघलाई राम्रो बनाउन आफु प्रतिवद्ध रहेको बताए । पार्टीमा आवद्ध रहेका थारु समुदायको नेतृत्वकर्ताहरुलाई सक्रिया बनाउनको लागि नेपाल थारु संघको स्थापना भएको उनले बताए । परशुनारायाण चौधरी र विजय कुमार गच्छदारको उदाहरण दिदै उनले पार्टीले थारु समुदायलाई नेतृत्वमा पु¥याएको बताए ।
मुलुकमा पहिलो पार्टी रहेको नेपाली काँग्रेस र दोस्रो पार्टी नेकपा एमाले भएपनि नेकपा माओवादीले मौकाको फाइदा उठाउदै अस्थिर सरकारको भूमिका निर्वाह गरिरहेको कारण स्थिर सरकार बनाउन काँग्रेस–एमाले गठबन्धन गरेको उनले बताए ।
यो सरकार २०८४ सालसम्म टिक्ने बताउदै उनले संविधान संशोधन प्रक्रिया अगाडी बढाउने तर समानुपतिक सहभागिताको मुद्दा यथावत रहने पनि बताए । त्यसैगरी उनले नेपाल थारु संघको केन्द्रीय महाधिवेशन चाँडै हुने र त्यसको लागि टीकापुरलाई हेरिएको बताए । २०५६ सालतिर आफु नेपालगंजबाट भारत हुदै धनगढी आउनु परेको बताउदै अहिले धेरै विकास भएको र सुदूरपश्चिमको मुहार फेरिएको बताए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री रामजनम चौधरी कसैबाट परिचालित नभएर आफै अगाडी बढ्नु पर्ने आग्रह गरेका थिए । नेपाल थारु संघ अहिले २७ जिल्लामा गठन भएको र १८ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको उनले बताए । उनले पार्टीबाट कुनैपनि पदमा नियूक्त गर्दा ५ नम्बर निर्वाचन क्षेत्रबाहेकलाई अन्याय गरेको बताए ।
अहिले संविधान संशोधन हुन गैरहेकोले अधिकारको लागि आवाज उठाउन जरुरी रहेको बताए । उनले संघको जिल्ला अधिवेशनमा सबै क्षेत्रलाई समेटेर अघि लाग्नुपर्ने सुझाव दिएका थिए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा.गोपाल दहित नेपाल थारु संघ जुन–जुन जिल्लामा गठन भएको र त्यो जिल्लामा बलियो रहेको बताए । पार्टी र संगठनलाई बलियो बनाउन अरुको कुरा काटेर अछुतो बनाउनु भन्दा पनि कुनै कमि कम्जोरी छ भने त्यसलाई सच्याएर लागे जनता त्यसको मुल्याङकन आफै गर्ने बताए ।
पार्टीका केन्द्रीय सदस्य तथा थारु विभाग संयोजक योगेन्द्र थारु पार्टीले थारु समुदायबाट नेतृत्व गर्नेहरुलाई सम्बोधन सम्मान गर्नको लागि नेपाल थारु संघको गठन गरेको बताए । ऐतिहासिक ठुला पार्टीले थारु समुदायलाई अगाडी नबढाएपनि नेपाली काँग्रेसले परशुनारायण चौधरी, विजय गच्छादारलाई अगाडि बढाएको लुम्बिनी प्रदेशमा थारु समुदाय डिल्ली चौधरीलाई मुख्य बनाएको कुरा आवगत गराए । त्यसैगरि उनले सुदूरपश्चिम प्रदेशमा प्रदेश नीति तथा योजना आयोगमा रानाथारु समुदायबाट डा. जीवन रानाथारु उपाध्यक्ष र जिल्ला समन्वय कैलालीको प्रमुखमा टीका चौधरी भुललाई नियुक्त गरेको पनि बताए ।
पार्टीका जिल्ला सभापति तथा राष्ट्रिय सभा सदस्य नारायणदत्त भट्ट सम्बोधन गर्दै थारु समुदायको घरबाट लोकतान्त्रिक पद्धति सुरु हुने बताए ।
कार्यक्रममा प्रदेश नीति योजना आयोगका उपाध्यक्ष डा. जीवन राना, पार्टीका केन्द्रीय सदस्य नृपबहादुर वड, नेपाल थारु संघका केन्द्रीय अध्यक्ष शिवनारायण गुरौ महतो, संविधानसभा सदस्य बुद्धिसागर चौधरी, पार्टी उपसभापति खेमराज डगौराथारु, थारु संघका बाँकेका फुलराम चौधरी, कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरी, उपाध्यक्ष भगवतीकुमारी चौधरी, प्रदेश नीति तथा योजना आयोगका सदस्य नृप सुनार, नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति प्रकाश शाह, क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति रिता चौधरी, क्षेत्र नम्बर नम्बर ४ का क्षेत्रीय सभापति बसन्त रोकाय, क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति भीम पडाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उद्घाटन समारोहमा स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष माया चौधरी र संचालन जिल्ला सचिव चुनीराम चौधरीले गरेका थिए । कार्यक्रममा प्रदेशसभा सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा, प्रदेशसभा सदस्य तुल्सी देवकोटा, पार्टीका केन्द्रीय सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पूर्व महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि सदस्य, क्षेत्रीय सभापति, तरुण दलका केन्द्रीय सदस्य, थारु संघका केन्द्रीय सदस्य, नेपाल महिला संघका जिल्ला अध्यक्ष शारदा सुनाम, संघका पालिका अध्यक्षहरु, नेविसंघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।