१७ जेष्ठ २०८३, आईतवार May 31, 2026

जागरण अभियानले जनताका समस्या नजिकबाट बुझ्न पायौं : पोखरेल

२० बैशाख २०८२, शनिबार
जागरण अभियानले जनताका समस्या नजिकबाट बुझ्न पायौं : पोखरेल

धनगढी, २० वैशाख । नेकपा (माओवादी केन्द्र) ले थालेको हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियानले जनतासँग नयाँ सम्बन्ध कायम भएको सो पार्टीका उपमहासचिव एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरीराजमणि पोखरेलले बताएका छन् ।

तराई मधेस जागरण अभियानको उपलब्धीबारे जानकारी दिन शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताएका हुन् । अभियान शानदार रुपमा सम्पन्न भएको दाबी गर्दै पोखरेलले भने, “यो अभियानले सकारात्मक सन्देश दिएको छ । जनताहरुले आफ्नो कुरा सुनाए, हाम्रो नेतृत्वले पनि जनतालाई हाम्रो कुरा सुनाएको छ । यसले हामीलाई उर्जा प्राप्त भएको छ ।” अभियानको क्रममा जनताको समस्या नजिकबाट बुझ्ने र हेर्ने अवसर मिलेको उनको भनाइ थियो ।

इन्चार्ज पोखरेलले हुलाकी राजमार्ग क्षेत्रका जनताहरु सुविधा र सुरक्षा खोजिरहेको बताए । हुलाकी राजमार्गको दक्षिणतिरका जनतामा न्यूनतम् सेवा सुविधा पनि नपुगेको भन्दै उनले भने,“यत्रो ठुलो परिवर्तन हुँदासम्म अहिलेसम्म यस क्षेत्रमा न्यूनतम् कुरा पनि पुगेको छैन ।”

सीमाको रक्षा गरिरहेको वास्तविक देशभक्त जनता यो क्षेत्रमा रहेको कुरा केन्द्रीय राज्य सत्ताले बुझ्न जरुरी रहेको इन्चार्ज पोखरेलको भनाइ थियो । अभियानले रुपान्तरण हुनुपर्ने सन्देश दिएको र यहिँ नै मूल उपलब्धी रहेको उनले बताए ।

गत फागुन १२ गतेबाट माओवादीले झापाबाट हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियान थालेको थियो । ६४ औं दिनमा सो अभियान कञ्चनपुरको महेन्द्रनगर पुगेर बुधबार समापन भएको थियो ।