कैलाली । धनगढी उपमहनगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले सपथ ग्रहण गरेका छन् ।
मुख्य निर्वाचन अधिकृत तथा कैलालीका न्यायाधीश जयनन्द पनेरुले जिल्ला अदालतमा उनलाई सपथ ग्रहण गराएका हुन् ।
आइतबार सम्पन्न मतगणना अनुसार हमालले २६ हजार ८६५ मत पाउँदै उपमहानगरको प्रमुखमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका नृपबहादुर वडले १४ हजार ८१७ मत प्राप्त गरे ।
यस्तै, नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ९ हजार ११५ मत ल्याए । उपमेयरमा एमालेकी कन्दकला राना विजयी भएकी छिन् । सुरुवाती चरणबाट माओवादी केन्द्रकी शान्ति अधिकारीलाई पन्छाइरहेकी रानाले अन्ततः अधिकारीलाई पछि पार्दै उपप्रमुखमा विजयी भएकी हुन् ।
उनले १५ हजार ४७९ मत पाउँदा माओवादी केन्द्रकी अधिकारीले १२ हजार ६७० मत पाइन्। स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ६०९ मत पाए ।गत वैशाख ३० गते शुक्रवार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ६४७ जनाले मतदान गरेका थिए । उपमहानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो ।