धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । अध्यक्षमा चार हजार ९०३ मत ल्याएर चित्रबहादुर चौधरी विजयी भएका छन् ।
उनले एक हजार ५३५ मतान्तरले नेपाली काङ्ग्रेसका बंशराम बडायकलाई पराजित गरेका हुन् । पराजित भएका बडायकले तीन हजार ३६८ मत प्राप्त गरे ।
यसैगरी, उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका रेखादेवी कठरिया विजयी भएकी छन् । उनले चार हजार ५८१ मत प्राप्त गरेकी छन् । उनीसंग पराजित नेकपा (माओवादी केन्द्र) का दीर्घराज विनाडीले तीन हजार ९६१ मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर ६२० रहेको छ ।
नागरिक उन्मुक्तिले वडा १, ३, ४ र ५ मा वडाध्यक्षसहित पूरै प्यानल जितेको छ । वडा १ को वडाध्यक्षमा रामचन्द्र चौधरी, वडा ३ को वडाध्यक्षमा रेणुकुमारी डगौरा, वडा ४ को वडाध्यक्षमा राम जनम चौधरी र वडा नं ५ को वडाध्यक्षमा अनरकुमार चौधरी विजयी भएका छन् । त्यस्तै वडा २ मा भने जसपाका विष्णुप्रसाद डगौरा र वडा ६ मा माओवादी केन्द्रका भोजराज डगौरा विजयी भएका छन् ।
जोशीपुर नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामजनम चौधरी र नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका उपसभापति तथा पूर्वराज्यमन्त्री जनक चौधरीको पालिका हो । यहाँ २०७४ को स्थानीय तहको निर्वाचनमा काँग्रेसले अध्यक्ष र उपाध्यक्षसहित अधिकांश वडामा जितेको थियो ।
को हुन चित्रबहादुर ?
नागरिक उन्मुक्ति पार्टीबाट विजयी चित्रबहादुर चौधरी वि स २०३३ सालमा जोशीपुर ५ सिम्रना कैलालीमा पिता मटराम डगौरा चौधरी र माता जुगरीदेवी डगौराको कोखबाट जन्मिएका हुन् । एसएसली र असिस्टेन्स सव इन्जिनियर अध्ययन गरेका चित्रबहादुरको यसअघिको समय जागिरे जीवनमा बितेको थियो । उनले नेपाल सरकारको पुननिर्माण प्राधिकरण अन्तरगत निजी आवाज कार्यक्रममा गोरखा जिल्लामा असिस्टेन्स सव इन्जिनियर भइ काम गरिसकेका छन् । यसैगरी , कैलाली कञ्चनपुर ग्रामीण विद्युतीकरण छाता संगठनको सुधारिएको चुलो कार्यक्रममा कैलालीमा ५ वर्ष काम गरेका छन् ।
यसैगरी सेवक नेपालका आयआर्जन कार्यक्रममा डेढ वर्ष, थापापुरद्वारा सञ्चालिक पथरैया सिँचाइ प्रणालीमा ६ महिना सेवा गरेको र २०५४ सालदेखि लेखनदास भएर काम गरेको अनुभव रहेको छ ।