२३ मंसिर २०७९, शुक्रबार December 9, 2022

टीकापुर मेयरमा नागरिक उन्मुक्तिका रामलाल थारु वियजी

५ जेष्ठ २०७९, बिहीबार
टीकापुर मेयरमा नागरिक उन्मुक्तिका रामलाल थारु वियजी

कैलाली । कैलालीको टीकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा थारु भारी मतान्तरले विजयी भएका छन् । उनले प्रतिस्पर्धी गठबन्धनका तर्फबाट काँग्रेसका नवराज रावलभन्दा ३ हजार मत बढी ल्याएका छन् ।

निर्वाचन अधिकृत पुष्कर खड्काका अनुसार थारुले ९ हजार ६४२ र रावलले ६ हजार ६४२ मत प्राप्त गरेका छन् ।
उनका अनुसार उपमेयरमा भने गठबन्धका तर्फबाट नेकपा माओवादी केन्द्रका खडकबहादुर शाह विजयी भएका छन् । उनले ७ हजार ९५५ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नागरिक उन्मुक्तिका उल्कादेवी विकले ७ हजार ८०२ मत पाएकी छन् ।
टीकापुर नगरपालिकामा ३१ हजार ५२३ मत खसेको थियो । सबैभन्दा बढी मत खसेको वडा नं. १ मा नेकपा एमालेका मोहन विक विजयी भएका छन् । उनी प्रतिस्पर्धी नागरिक उन्मुक्तिका लक्ष्मण चौधरीभन्दा ३ मत बढी ल्याएर विजयी भएको निर्वाचन अधिकृत खड्काले जनाए । विकले २ हजार ४९८ र चौधरीले २ हजार ४९५ मत पाएका छन् । वडा नं. १ मा ११ हजार ७९ मत खसेको थियो ।
कुल नौ वटा वडामध्ये काँग्रेसले ३, माओवादी केन्द्रले ३, नागरिक उन्मुक्तिले २ र एमालेले एक वडाध्यक्ष जितेको छ । काँग्रेसका तर्फबाट वडा नं. २ मा दीपक चौधरी, वडा नं. ३ मा ऋषी विश्वकर्मा र वडा नं. ६ मा बलिराम चौधरी विजयी भएका छन् ।
त्यस्तै माओवादी केन्द्रबाट वडा नं. ७ मा यज्ञ न्यौपाने, वडा नं. ८ मा दीर्घ ठकुल्ला र वडा नं. ९ मा लौटन चौधरी विजयी भएका छन् । ठकुल्ला र चौधरी यसअघि समेत वडाध्यक्ष थिए ।
नागरिक उन्मुक्तिका तर्फबाट वडा नं. ४ मा लालविर चौधरी र वडा नं. ५ मा बलबिर चौधरी विजयी भएका छन् । वडा नं. ४ का लालविर यसअघि समेत वडाध्यक्ष थिए ।

त्यस्तै वडा नं. १ मा एमालेका मोहन विक विजयी भएका छन् । उनी नागरिक उन्मुक्तिका लक्ष्मण चौधरीसँग ३ मतान्तरले विजयी भएका हुन् । उनले २ हजार ४९८ मत पाएको निर्वाचन अधिकृत खड्काले जनाए ।