२२ भाद्र २०८१, शनिबार September 7, 2024

कैलारी अध्यक्षमा कांग्रेसका राजसमझ र उपाध्यक्षमा भगवती विजयी

५ जेष्ठ २०७९, बिहीबार
कैलारी अध्यक्षमा कांग्रेसका राजसमझ र उपाध्यक्षमा भगवती विजयी

धनगढी । कैलारी गाउँपालिका अध्यक्षमा काँग्रेसका उम्मेदवार राजसमझ चौधरी र उपाध्यक्षमा भगवती चौधरी विजयी भएका छन् ।
सत्तासाझेदार गठबन्धनको कारबाहीमा परेका चौधरीले गठबन्धनका आधिकारिक उम्मेदवार तथा निर्वतमान गाउँपालिका अध्यक्ष माओवादी केन्द्रका लाजुराम चौधरी पराजित गरेका हुन् । उनले निवर्तमान अध्यक्ष चौधरीलाई ४ हजार बढीको मतान्तरले पराजित गरेका हुन् ।
राजसमझले १० हजार ४ सय ९२ मत प्राप्त गरे भने लाजुरामले ६ हजार ४ सय ३० मत प्राप्त गरेका छन् । उपाध्यक्षमा कांग्रेसकी भागवतीकुमारी चौधरी विजयी भएकी छन् । उनले १० हजार ४ सय ८४ मत ल्याएर निर्वतमान उपाध्यक्ष माओवादीकी लक्ष्मी सत्गौंवा थारुलाई पराजित गरेकी हुन् । सत्गौवाले ६ हजार ४ सय ७७ मत प्राप्त गरिन् ।
उम्मेवारी फिर्ता लिने बेलासम्म गठबन्धन दलमा सहमति नजुट्दा कांग्रेसका तर्फबाट अध्यक्षमा राजसमझ चौधरीको उम्मेदवारी कायम रहेको थियो । उम्मेदवारी फिर्ता लिने समय सीमा सकिएपछि गठबन्धन दलले माओवादीका उम्मेदवार लाजुराम चौधरीलाई आधिकारिक उम्मेदवार घोषणा गरेको थियो । तर, गठबन्धनको उक्त सहमति र निर्णयलाई उल्लंघन गर्दै कांग्रेसका रामसमज चौधरी प्रचारमा हिँडेका थिए । उनलाई स्थानीय कांग्रेसले प्रचारमा साथ दिएका थिए ।
कांगेसका जिल्लास्तर तथा केन्द्रस्तरका नेताहरू भने गठबन्धनको आधिकारिक उम्मेदवार नभएकोले खुलेर साथ दिएका थिएनन् । उपाध्यक्षमा कांग्रेसकी भागवतीकुमारी चौधरीलाई आधिकारिक उम्मेदवार घोषणा गरिएको थियो ।
कैलारी गाउँपालिकामा काँग्रेसले १ देखि ९ वडासम्म प्यानलै जितेको छ । वडा नम्बर १ धोजहरिपाल बोहरा, २ मा विकास चौधरी, ३ मा सन्तराम चौधरी र वडा नम्बर ४ मा ठागुराम चौधरी र ५ मा विष्णुप्रसाद चौधरी, वडा नम्बर ६ मा प्रेम चौधरी, ७ मा दिपेन्द्र बम, ८ मा तारामल कठरिया र ९ मा खेम चौधरी प्यानल सहित विजयी भएका छन् ।