कैलाली । कैलालीको कैलारी गाउँपालिकाका निवर्तमान अध्यक्ष लाजुराम चौधरीले गाउँपालिकालाई स्मार्ट सिटीको रुपमा विकास गर्ने परिकल्पना गरेको बताएका छन् ।
नेकपा माओवादी केन्द्रका तर्फबाट गाउँपालिका अध्यक्षका लागि पुनः उम्मेदवार बनेका उनले गाउँपालिकालाई स्मार्ट सिटीको रुपमा विकास गर्न आफूले २० वर्षे कार्ययोजना बनाएको बताएका छन् । उनले गाउँपालिकालाई ग्रामिण विकास देखि लिएर शहरी विकास, आधुनिकीकरण सहित स्मार्ट सिटीको रुपमा विकासका लागि उनले आफ्नो मिसन र भिजन सहित २० वर्षे दुरदर्शी कार्ययोजना बनाएका हुन् । उनले स्मार्ट सिटीका लागि ५ वर्षमा ग्रामीण विकास सम्पन्न गर्ने, १० वर्षमा शहरी विकास सम्पन्न गर्ने, १५ वर्षमा आधुनिकीकरण र २० वर्षमा स्मार्ट सिटीको रुपमा विकास गर्ने स्पष्ट परिकल्पना गरेका छन् ।
यस अघिको स्थानीय तहको चुनाव २०७४ मा नै उनले उक्त कार्ययोजना सहित आफ्नो घोषणा पत्र सार्वजनिक गरेका थिए । आफूले बनाएको कार्ययोजना अन्र्तगत उनले पाँच वर्षे कार्यकालमा ग्रामीण विकास सम्पन्न गर्दै एक खुड्किलो पार गरिसकेको बताए ।
ग्रामीण विकास अन्र्तगत उनले भौतिक पूर्वाधार देखि लिएर कानूनी तथा प्रशासनिक कार्य, गाउँघरमा विद्युतीकरण, ग्राभेलिङ, सञ्चार, पुलपुलेसा लगायत विभिन्न कार्य सम्पन्न भएको बताए ।
भौतिक पूर्वाधार निर्माण देखि हरेक काम समयमै सम्पन्न गरेकै कारण सरकारको प्राकृतिक स्रोत वित्त आयोगले तयार पारको कार्य सम्पादन मूल्यांकन प्रतिवेदन अनुसार ७६.४९ अंक प्राप्त गरि मुलुककै उत्कृष्ट पाँचौ र पालिका मध्ये तेस्रो स्थान प्राप्त गर्न सफल भएको बताउँदै उनले पुनः मतदाताहरुले आफूलाई सहयोग गर्ने बताए ।
साथै उनले यसपालि गाउँपालिकाको ग्राभेलयुक्त सबै मूल सडकहरु आगामी चार वर्षभित्र कालोपत्रे गरिने, विभिन्न ठाउँमा चक्रपथ निर्माणको विस्तृत परियोजना प्रतिवेन तयार भइसकेकाले त्यसलाई पाँच वर्षभित्रै कार्यान्वयन गर्ने, विभिन्न नदीमा पुल निर्माण गर्ने, बैजपुरमा १५ शैयाको अस्पताल निर्माण गर्ने लगायतका प्रतिवद्धता सहित आफ्नो प्रतिवद्धता जनाएका छन् ।
हेरौँ उनले जनाएका प्रतिवद्धता पत्रको पूर्णपाठ
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु,
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र, राज्य पुनःसंरचना, स्थानीय तहको संरचना, पूर्ण समानुपातिक समावेशिता, धर्मनिरपेक्षता, विभेदमुक्त समाजको सुत्रधार नेकपा (माओवादी केन्द्र) हो भन्नेमा दुई मत छैन । स्थानीय तहको पुनःसंरचनाको मूल प्रस्तावक भएकोले यसको कार्यान्वयन गर्ने हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहलाई जनताले वास्तविक स्थानीय सरकारको रुपमा स्थापित गर्न चाहान्छ । स्थानीय सरकारको राजनीतिक प्रणाली, शिक्षा, स्वास्थ्य, यातायात, साँस्कृतिक, सामाजिक, भाषा, कला, संस्कृति, न्याय, रोजगार र शान्ति सुरक्षालगायत समग्र विकासको आधारभूत मान्यतालाई आत्मसाथ गरेको छ । कैलारी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले ५ वर्षमा ग्रामीण विकास सम्पन्न गर्ने, १० वर्षमा शहरी विकास गर्ने, १५ वर्षमा आधुनिकीकरण गर्ने र २० वर्षमा स्मार्ट सिटीको रुपमा विकास गर्ने स्पष्ट परिकल्पना गरेकोछ । जसको नीति उसैको नेतृत्वको मूल ध्येयका साथ कैलारी गाउँपालिकाकोसमुचित विकासको लागि हाम्रो केही एजेण्डा तथा प्रतिवद्धताहरु यस प्रकार छन :–
–गाउँपालिकाभित्रका ग्राबेलयुक्त गाउँ बस्तीका मूल सडक÷बाटोहरु ४ वर्षभित्रै कालोपत्रे गर्ने ।
–जनसमुदायबीचको अन्तरसम्बन्ध तथा कैलारी गाउँपालिकामा आमजनताका दैनिकी सहज र सुलभ बनाउन र यातायातमार्फत आयस्तर बृद्धि गर्न चक्रपथ (रिङ्ग रोड) दीर्घकालीन योजनालाई पाँच वर्षभित्रै स्तरोन्नतीसहित कालोपत्रे सम्पन्न गर्ने ।
–चक्रपथ (रिङ्ग रोड)को दीर्घकालीन योजना अन्तरगत बसन्ता, मंझरा, टेंढी, गौरीगंगा, घुराहा नदीमा बन्ने पुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेकोले पाँच वर्षभित्रै कार्यान्वयन गरिने ।
–डीपीआर भएको रामपुर–कटैनी नदीमा पुल, मंझरा–कटैनी नदीमा पुल, लक्कड कटैनी नदीमा पुल, लम्मीफाँटा–बेनौली जोड्ने झलारी पुल, सुर्मी–बनकट्टा जोड्ने झालारी पुल निर्माण गर्ने ।
–गाउँपालिकाभित्रका विभिन्न वडाहरुमा अतिआवश्यक रुपमा रहेको प्रत्येक वडाहरुमा पहिलो वर्षमै कल्भर्ट निर्माण गर्ने ।
–गाउँपालिकाले रणनैतिक सडक योजनाको रुपमा राखेको धर्मपुरदेखि कोइलही तालसम्म, सुर्मी नालादेखि लौसासम्म, सडकपुरदेखि लोहरपुरसम्म कालोपत्रे सम्पन्न गर्ने ।
–प्रत्येक वडामा रहेको वडाका रणनैतिक सडक, वडा नं. ५ स्थित हुलाकी सडकदेखि छोटी पलियासम्म, वडा नं. ६ स्थित धर्मपुरदेखि भगतपुर–घुराहा–पुलसम्म, वडा नं. ३ स्थित हुलाकी सडकदेखि वडा नं. ३ को कार्यालयसम्म, वडा नं. २ स्थित कैलारी गाउँदेखि वडा नं. २ को वडा कार्यालयसम्म, वडा नं. ८ स्थित प्राथमिक स्वास्थ्य केन्द्र उदासीपुरदेखि दुधियासम्म, वडा नं. ९ स्थित जनता माध्यमिक विद्यालयदेखि गदरिया गाउँसम्मको बाटोलाई कालोपत्रे सम्पन्न गर्ने ।
–कैलारी गाउँपालिकाभित्र निर्माण हुने सबै सडकहरु गाउँपालिका सडक मापदण्ड २०७५ र सडक विभागको मापदण्ड अनुसार स्तरोन्नती गर्ने ।
–यहाँ निर्माण हुने चक्रपथमा ‘कैलारी यातायात सेवा’ बस सञ्चालनको अवधारणालाई अगाडि बढाउने ।
–वडा न.. ४, ६ र ८ मा तालिम, गोष्ठीलगायतका बहुउदेश्यीय सभा भवन निर्माण गर्ने ।
–सिकलसेल एनिमिया रोगका बिरामीहरुको निःशुल्क स्वास्थ्य बीमा गरिने र उपचार गर्न जाँदा र फर्किदाको यातायात खर्च बृद्धि गर्ने र बिरामीहरुलाई अजीवन निःशुल्क औषधोपचारको लागि नेपाल सरकारसँग पहल गर्ने ।
–गाउँपालिकास्थित वडा न. ५ बैजपुरमा १५ शैयाको अस्पताल निर्माणको प्रक्रिया अगाडि बढिसकेकोले यथासिघ्र सञ्चालनमा ल्याइने ।
–गदरिया स्वास्थ्य चौकीको स्तरोन्नतीसँगै भौतिक पूर्वाधार निर्माण गरिने ।
–महिला स्वास्थ्य स्वयम सेविकाहरुको क्षमता विकासका कार्यक्रम ल्याइने ।
–हसुलियामा बहुमुखी क्याम्पस, उजेलीसेमरमा बहुप्राविधिक शिक्षालयको स्तरोन्नती, लक्ष्मी माध्यमिक विद्यालय पृथ्वीपुरमा आई.टी. कक्षाको स्तरोन्नती र जनता माध्यमिक विद्यालय गदरियामा कृषि प्राविधिक शिक्षाको स्तरोन्नती गरिने छ ।
–यहाँ अध्ययन गरिसकेका विद्यार्थीहरुलाई इन्टनशिपको व्यवस्था गर्ने ।
–उच्च शिक्षा अध्ययनका लागि लक्षित वर्ग (शहीद÷वेपत्ता÷घाइतेका परिवार, कमैया, कमलरी, दलित, अति विपन्न तथा जेहेन्दार विद्यार्थी)लाई छात्रवृतिको व्यवस्था गर्ने ।
–निःशुल्क रुपमा लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने ।
–थारु मातृ भाषा शिक्षकहरुको सुविधा बृद्धि गर्ने, शिक्षकहरुलाई समर्थन पत्र उपलब्ध गराउने । साथै शिक्षकहरुको क्षमता विकासको तालिम सञ्चालन गर्ने ।
–नमूना विद्यालयहरुको स्तरोन्नती गर्ने र थप नमूना विद्यालय बृद्धि गर्ने ।
–गाउँपालिकाले विशेष क्षेत्र घोषणा गरेको सीमावर्ती गाउँहरु हौसलपुल, शिवरत्नपुर, मोहनपुर र भौगोलिक रुपले उपेक्षित देवीगञ्ज, सामरचौरा, सिमराना, पर्सिनिहिया पुरुवा गाउँमा विशेष प्याकेजको कार्यक्रम (अनुदान) लागु गरिने छ ।
–मोहना, कटैनी, घुराहा, घुरही नदीको डुबान, कटान र पटानबाट ग्रसित यहाँका बासिन्दाको बासोबास व्यवस्थित गर्न नदी नियन्त्रणको लागि गुरुयोजना निर्माण कार्यान्वयन गर्ने ।
–कैलारी गाउँपालिकामा रहेका सम्पूर्ण मुक्तकमैया, सुकुमबासी, भूमिहीनहरुलाई जग्गाको लालपूर्जाको निस्सा वितरणको प्रक्रिया सुरुवात भइसकेकोले आउँदो आर्थिक वर्ष २०७९÷२०८० भित्रै लालपूर्जा वितरणको कार्य सम्पन्न गर्ने ।
–स्थानीय तहमा रहेको न्यायिक समितिको कार्यलाई निश्पक्ष, स्वतन्त्र, जनउत्तरदायी र छिटो छरिटो न्याय सेवा प्रदान गर्ने । साथै गाउँपालिकाको भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०७८ लाई प्रभावकारी कार्यान्वयन गरिने ।
–सीमा अतिक्रमण, सीमा सुरक्षा र शान्ति सुरक्षाका लागि प्रभावकारी व्यवस्था गर्ने । साथै गाउँपालिकाका ग्रामीण क्षेत्रमा प्रहरी बिट स्थापनाको लागि पहल गर्ने ।
–शहीद परिवार, बेपत्ता, घाइते, आपाङ्ग र द्वन्द्व प्रभावित व्यक्तिहरुको लागि सम्मान, संरक्षण, स्वास्थ्य, शिक्षा, सीप विकास, रोजगारलगायतका कार्यहरुलाई विशेष प्राथमिकता दिने ।
–समाजभित्रका अति गरिब, आपाङ्गता भएको व्यक्ति, एकल महिला, एकल पुरुषहरुका लागि गाँस, बास, कपास, स्वास्थ्य, शिक्षाको ग्यारेन्टी गर्ने ।
–हिंसा प्रभावितहरुको लागि सुरक्षित आवास गृह सञ्चालन गरिनेछ ।
–सार्वजनिक स्थालमा निर्माण हुने हरेक संरचना अपाङ्गमैत्री बनाइनेछ ।
–अपांगता भएका बालबालिकाका लागि पठनपाठनकोलागि छुट्टै व्यवस्था गरिनेछ ।
–गाउँपालिकाभित्रका विभिन्न वडाहरुमा शव व्यवस्थापन स्थान तथा व्यवस्थित घाट निर्माण गर्ने ।
–विभेद मुक्त गाउँपालिका घोषणा भइसकेकोले गरिब बेरोजगार दलित समुदायका व्यक्तिहरुका लागि आयआर्जनमूलक उत्पादनको कार्य (बाख्रा पालन, कुखरा पालन, बंगुर पालन, हाँस पालन इत्यादि) कार्य गर्ने । दलित समुदायको पुर्खौली पेशालाई प्रविधिसँग जोड्दै व्यवसायकरणमा जोड दिने । साथै समुदायभित्र जनचेतनामूलक कार्यक्रमहरु गरिने ।
–गाउँपालिकास्थित बेरोजगार यूवाहरु पलायन हुनबाट रोक्न स्वरोजगारमूलक क्षमता विकास तथा रोजगार कार्यक्रम प्रत्येक गाउँ टोल बस्तीमा सञ्चालन गरिने । गाउँपालिकास्थित प्रत्येक सहकारीलाई जोड्ने गरी एक सहकारी एक उद्योग स्थापना गर्ने ।
–कृषि पेशालाई मर्यादित र सम्मानित बनाउनका लागि कृषिमा आधुनिकीकरण, व्यवसायकरण, यान्त्रीकरण गरी किसानहरुको कृषि उपजको उत्पादनमा बृद्धि र आर्थिक आयस्तर बृद्धि गर्ने ।
–जनजाति थारुभित्र पर्ने कुमाल थारु बस्तीलाई प्राथमिकतामा राखी उनीहरुको पुर्खौली पेशा संरक्षण तथा प्रवद्र्धन गर्दै नयाँ प्रविधिसँग जोड्ने कार्यक्रम ल्याइने ।
–गाउँपालिकास्थित सार्वजनिक स्थानहरु (बजार, विद्यालय, मठ मन्दिर, चर्च, देउथान)मा सार्वजनिक शौचालय निर्माण गर्ने ।
–कृषिमा उत्पादन बृद्धि गर्नको लागि टेढी बाँध, गुरगी बाँध, दुधिया झलारी बाँधलाई व्यवस्थित बनाइ कैलारी गाउँपालिकाका सम्पूर्ण खेती योग्य जमिनमा सिँचाइको पूर्ण व्यवस्था गर्ने ।
–कृषि तथा पशु बीमा कार्यक्रम निःशुल्क गरिने छ ।
–संघ, प्रदेश र कैलारी गाउँपालिकाको लागत साझेदारीमा कार्यान्वयनमा भइरहेको वनदेवी धार्मिक पर्यटकीय क्षेत्र र डुबरी ताल मिनी पार्क दु्रत गतिमा कार्य सम्पन्न गर्ने र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) भएको कोइलही ताल, कालीमाई मन्दिर र बसन्ता जैविक मिनीपार्क निर्माण गर्ने ।
–कोइलही ताल, मझरा ताल, कैलारी ताल, राखौना ताल, पुरैना ताललगायत अन्य तालहरुलाई पर्यटकीय स्थलको रुपमा विकास गरी आयमा बृद्धि गरी रोजगारको सुनिश्चिता गर्ने ।
–प्रत्येक वार्डमा बाल उद्यान स्थापना गर्ने ।
–थारु भेषभुषा, भाषा, कला, संस्कृति र पहिचानको संरक्षणको लागि विशेष कार्यक्रम गर्ने । गाउँपालिकाभित्रको मौलिक थारु गाउँ पहिचान गरी गाउँलाई नै संग्राहलयको प्रारुप दिने । साथै मादल तथा वाद्य बादनलगायत सामग्री बनाउने तथा बजाउने तालिम सञ्चालन गरिने ।
–थारु हस्तकलाबाट निर्मित दुना, टपरी, डेलुवा, ढकिया, मचिया, खटिया, गुन्ड्री, खैचां, सुप्पा (नाङलो)लगायत सामग्रीको प्रबद्र्धन तथा बजारीकरण गर्ने ।
–निर्माण भइसकेका ओभरहेड खानेपानी योजना सञ्चालन गर्ने र निर्माण भइरहेको वडा नं.५ र ४ को खानेपानी योजना सम्पन्न गरी सञ्चालन गर्ने र वडा नं. ६ मा खानेपानी योजना निर्माण गरिने छ । साथै ‘शुद्ध खानेपानी स्वस्थ जिन्दगानी’को नारालाई प्रभावकारी कार्यान्वयन गर्ने गरी मागमा आधारित उच्च नल घर–घरमा पु¥याउने ।
–हसुलिया बजारलाई शहरीकरणका लागि व्यापारिक तथा औद्योगिक केन्द्रको रुपमा विकास गर्ने र गाउँपालिकाभित्रका गदरिया, मोहनी बजार, पबेरा, उजेलीसेमर, कैलारीलगायतका बजार व्यवस्थित विकास गर्र्ने ।
–गाउँपालिकाको मुख्य–मुख्य बजार क्षेत्रमा फ्री वाईफाईको व्यवस्था गर्ने । साथै प्रत्येक वडाहरुमा सार्वजनिक पुस्ताकालय तथाि ई–लाइब्रेरी स्थापना गर्ने ।
– प्रविधिको विकास गर्दै सरकारी कार्यालयलाई प्रविधिमैत्रीको अवधारणालाई प्रवद्र्धन गर्ने ।
–राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त गाउँपालिकाका खेलाडीहरुको सम्मान र प्रोत्साहन गर्ने साथै नयाँ खेलाडीहरुको क्षमता विकास हुने गरी खेलकुद विकासको लागि खेल मैदान, कभर्ड हल निर्माण गर्ने ।
–नेपाल सरकारको प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार पारेको कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदन अनुसार कैलारी गाउँपालिका उत्कृष्ट गाउँपालिकाको रुपमा स्थापित भइसकेकोले आगामी दिनमा ‘ग्रीन एण्ड स्मार्ट’ गाउँपालिकामा विकास गर्ने ।
–बसन्ता कोरीडोर क्षेत्रलाई संरक्षण र सम्बद्र्धनको लागि जडिबुटी रिसर्च केन्द्र स्थापना गरी स्थानीय थारु समुदायका गुरुवा, धामी तथा बैद्यको व्यवस्थापन गरिने छ ।