१० चैत्र २०८१, सोमबार March 24, 2025

कैलारीमा तीन उम्मेदवार बीच कडा प्रतिस्पर्धा

२६ बैशाख २०७९, सोमबार
कैलारीमा तीन उम्मेदवार बीच कडा प्रतिस्पर्धा

कैलाली । कैलालीको कैलारी गाउँपालिका अध्यक्षका लागि तीन पुराना उम्मेदवार कडा प्रतिस्पर्धामा उत्रेका छन् ।
यही बैशाख ३० गते हुन गइरहेका स्थानीय तह निर्वाचनमा गाउँपालिकाका निवर्तमान अध्यक्ष लाजुराम चौधरी, नेपाली काँग्रेसका राजसमझ चौधरी र राप्रपाका होमबहादुर गुरुङको पुनः कडा प्रतिस्पर्धा मा उत्रेका हुन् । २०७४ सालको स्थानीय निर्वाचनमा अध्यक्ष पदका लागि तीनै जना प्रतिस्पर्धामा रहेका थिए । तर उक्त निर्वाचनमा माओवादीका लाजुराम चौधरीले विजयी हासिल गरेका थिए । उनले ६ हजार २०४ मत ल्याएर विजयी हासिल गरेका थिए । उनलको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजसमझ चौधरीले ५ हजार ८८७ मत ल्याएका थिए ।
चुनावी माहोल एकदमै राम्रो भएकोले पुनः आफू जित हासिल गर्ने उनले बताए । पाँच वर्षको अवधिमा आफूले गाउँपालिकाभित्र भौतिक पूर्वाधार देखि कानूनी तथा प्राशासनिक कार्यसम्पादन राम्रो गरेकोले जित हासिल गर्ने बलियो आधार रहेको बताए ।


उनले भने– ‘पाँच वर्षको अवधिमा मैले भौतिक पूर्वाधार देखि लिएर कार्यसम्पादन मूल्यांकनमा गाउँपालिकालाई नै उत्कृष्ट ल्याएँ । यस कारणले पनि मेरो जित्ने आधार बलियो छ ।’
नेपाली काँग्रेसका उम्मदेवार राजसमझ पनि आफ्नो चुनावी माहोल राम्रो भएको बताए । २०७४ को चुनावमा केही कारणले पराजय भोगेको उनले यसपालिको चुनावमा जीत हासिल गर्ने बलियो आधार रहेको बताए ।
उनले भने,–‘गएको चुनावमा पार्टीले वडा नम्बर ९ मा खेम चौधरीलाई आधिकारिक टिकट दिएन । टिकट नपाए पनि उनले स्वतन्त्र उम्मेदवारी दिए र विजय भए । यस्तै वडा नम्बर ८ मा पनि नेपाली काँग्रेसका दुई उम्मेदवार भएका कारण हार व्यहोरेँ । तर यसपालि कांग्रेस एक ढिक्का भएर चुनावी अभियानमा लागेको छ ।’
राप्रपा नेपालका होमबहादुर गुरुङ पनि यसपालिको चुनावमा मतदाताले आफलाई सहयोग गर्ने बताए । उनले सबैलाई समान दृष्टिले हेरेको कारण मतदाताले आफूलाई विश्वास गरि विजय गराउने दाबी गरे ।
नेकपा एमालेका झुमादेवी चौधरी, नागरिक उन्मुक्ती पार्टीका भिष्मराज चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीबाट विनोदकुमार चौधरी पनि अध्यक्ष पदकालालि चुनावी अभियानमा जुटेका छन् ।
उपाध्यक्षका लागि नेपाली काँग्रेसका भगवती कुमारी चौधरी, नेकपा माओवादी केन्द्रका लक्ष्मी सत्गौँवा थारु, राप्रपा नेपालका पिङगला थारु, जनता समाजवादी पार्टीका फुलमति महतो, नेकपा एमालेका जालुराम चौधरी, नागरिक उन्मुक्ती पार्टीका कविता चौधरी र स्वतन्त्रबाट अनिताकुमारी चौधरीले उपाध्यक्ष पदका लागि प्रतिस्पर्धामा उत्रेका छन् । नेकपा माओवादी केन्द्रका लक्ष्मी सत्गौँवाथारु निवर्तमान उपाध्यक्ष हुन् ।

पुरानै चुनावी एजेण्डा
अध्यक्ष पदका लागि प्रतिस्पर्धाममा उत्रेका सबै उम्मेदवारका चुनावी एजेण्डा पुरानै तथा एउटै रहेको छ । निवर्तमान अध्यक्ष तथा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार लाजुराम चौधरी, नेपाली काँग्रेसका रामसमझ चौधरी र राप्रपाका होमबहादुर गुरुङका चुनावी एजेण्डाका अधिकांश बँदा एउटै रहेका छन् ।
नेकपा माओवादीका तर्फबाट लाजुराम चौधरीले स्थानीय सरकारको राजनीतिक प्रणाली, शिक्षा, स्वास्थ्य, यातायात, साँस्कृतिक, सामाजिक, भाषा, कला, संस्कृति, न्याय, रोजगार र शान्ति सुरक्षालगायत समग्र विकासको आधारभूत मान्यतालाई आत्मसाथ गरेको बताउँछन् ।
अध्यक्षका उम्मेदवार चौधरी कैलारी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले ५ वर्षमा ग्रामीण विकास सम्पन्न गर्ने, १० वर्षमा शहरी विकास गर्ने, १५ वर्षमा आधुनिकीकरण गर्ने र २० वर्षमा स्मार्ट सिटीको रुपमा विकास गर्ने स्पष्ट परिकल्पना गरेकोछ ।
गाउँपालिकाभित्रका ग्राबेलयुक्त गाउँ बस्तीका मूल सडक/बाटोहरु ४ वर्षभित्रै कालोपत्रे गर्ने, जनसमुदाय बीचको अन्तरसम्बन्ध तथा कैलारी गाउँपालिकामा आमजनताका दैनिकी सहज र सुलभ बनाउन र यातायातमार्फत आयस्तर बृद्धि गर्न चक्रपथ (रिङ्ग रोड) दीर्घकालीन योजनालाई पाँच वर्षभित्रै स्तरोन्नतीसहित कालोपत्रे सम्पन्न गर्ने प्रतिवद्धता रहेको छ ।
चक्रपथ (रिङ्ग रोड)को दीर्घकालीन योजना अन्तरगत बसन्ता, मंझरा, टेंढी, गौरीगंगा, घुराहा नदीमा बन्ने पुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेकोले पाँच वर्षभित्रै कार्यान्वयन गरिने, डीपीआर भएको रामपुर–कटैनी नदीमा पुल, मंझरा–कटैनी नदीमा पुल, लक्कड कटैनी नदीमा पुल, लम्मीफाँटा–बेनौली जोड्ने झलारी पुल, सुर्मी–बनकट्टा जोड्ने झालारी पुल निर्माण गर्ने लगायतका विकासका एजेन्डा रहेको छ ।
यस्तै स्वास्थ्य, रोजगार, खानेपानी लगायत उच्च शिक्षा अध्ययनका लागि लक्षित वर्ग (शहीद/वेपत्ता/घाइतेका परिवार, कमैया, कमलरी, दलित, अति विपन्न तथा जेहेन्दार विद्यार्थी)लाई छात्रवृतिको व्यवस्था गर्ने, निःशुल्क रुपमा लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने, थारु मातृ भाषा शिक्षकहरुको सुविधा बृद्धि गर्ने, शिक्षकहरुलाई समर्थन पत्र उपलब्ध गराउने, शिक्षकहरुको क्षमता विकासको तालिम सञ्चालन गर्ने, नमूना विद्यालयहरुको स्तरोन्नती गर्ने र थप नमूना विद्यालय बृद्धि गर्ने, गाउँपालिकाले विशेष क्षेत्र घोषणा गरेको सीमावर्ती गाउँहरु हौसलपुल, शिवरत्नपुर, मोहनपुर र भौगोलिक रुपले उपेक्षित देवीगञ्ज, सामरचौरा, सिमराना, पर्सिनिहिया पुरुवा गाउँमा विशेष प्याकेजको कार्यक्रम (अनुदान) लागु गरिने रहेको छ ।
यसैगरि थारु भेषभुषा, भाषा, कला, संस्कृति र पहिचानको संरक्षणको लागि विशेष कार्यक्रम गर्ने, गाउँपालिका भित्रको मौलिक थारु गाउँ पहिचान गरी गाउँलाई नै संग्राहलयको प्रारुप दिने, मादल तथा वाद्य बादनलगायत सामग्री बनाउने तथा बजाउने तालिम सञ्चालन गरिने, गाउँपालिकामा रहेका सम्पूर्ण मुक्तकमैया, सुकुमबासी, भूमिहीनहरुलाई जग्गाको लालपूर्जाको निस्सा वितरणको प्रक्रिया सुरुवात भइसकेकोले आउँदो आर्थिक वर्ष २०७९/२०८० भित्रै लालपूर्जा वितरणको कार्य सम्पन्न गर्ने, स्थानीय तहमा रहेको न्यायिक समितिको कार्यलाई निश्पक्ष, स्वतन्त्र, जनउत्तरदायी र छिटो छरिटो न्याय सेवा प्रदान गर्ने, भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०७८ लाई प्रभावकारी कार्यान्वयन गरिने लगायत प्रतिवद्धता रहेको छ ।
नेपाली कांग्रेसका राजसमझ चौधरीले गाउँपालिकावासीको जीवनमा गुणात्मक परिवर्तन ल्याउने अठोट सहितको समुन्नत र समृद्ध गाउँपालिका बनाउने प्रतिवद्धता गरेका छन् ।
सडकमा ग्राभेलिङ गर्ने, गाउँपालिकामा बहुमुखी क्याम्पसको स्थापना गर्न पहल गरिने, प्राविधिक शिक्षा सञ्चालन गर्ने, सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने, सुत्करी भत्ता तीन सम्म सम्म मासिक तीन हजारका दरले उपलब्ध गराउने प्रतिवद्धता रहेको बताए ।
उनले संचार क्षेत्रको विकास एवं विस्तारका लागि स्थानीय संचार नीति बनाई विज्ञापन, सूचना, संचार सामग्री खरिदमा अनुदानको व्यवस्था गरिने, कैलारी गाउँपालिकाका भित्र ठूला योजना सञ्चालनका लागि प्रदेश र संघीय सरकारसँग सहकार्य गरिने प्रतिवद्धता रहेका छ ।
यसैगरि कृषि उत्पादनलाई बढावा दिन उन्नत बीऊ बिजन, उन्नत पशुपालनका लागि योजनाबद्ध रुपमा कार्य अगाडि बढाउने, वैज्ञानिक भूमि व्यवस्थापन र भू–उपयोगको नीति तर्जुमा, सूचना र सञ्चारलाई नागरिकको पहुँचमा पु¥याउन आवश्यकता अनुसार टेलिभिजन, एफएम तथा पत्रपत्रिका, अनलाइन सञ्चालकलाई प्रोत्साहन गर्ने उनको प्रतिबद्धता रहेको छ ।
राप्रपाका होमगुरुङले सडक, शिक्षा, खेलकूद, कृषि, स्वास्थ्य, रोजगारीलाई प्राथमिकतामा राखेर चुनावी एजेण्डा लिएर गाउँघरमा प्रचारप्रसारमा जुटेका छन् ।
यता उम्मेदवारहरुले उठाएका सबै एजेण्डा पुरानै र एउटैखाले रहेको भन्दै स्थानीयहरुले गुनासो गरेको छन् । गाउँपालिकाका स्थानीय पुजा चौधरीले उम्मेदवारहरुको एजेण्डा पुरानै रहेको बताइन् ।
‘धेरै उम्मेदवारका पुरानै चुनावी एजेण्डा र प्रतिवद्धता पत्र रहेका छन्’, उनले भनिन्–‘हाम्रा नेताहरुले भौतिक पुर्वधारका एजेण्डालाई अगाडी सारे तर ति योजनामा जनताको पहुँच हुने कि नहुने भन्ने विषयमा चिन्तित भएको देखिएन ।’
यसैगरि अर्का स्थानीय कविता चौधरी पनि सबै उम्मेदवारको एजेण्डा एउटै रहेको बताइन् । उनले भनिन्–‘सबै पार्टीको एजेण्डा हेर्दा भौतिक विकासलाई मात्रै जोड दिएको छ । तर पहिलो प्राथमिता किसानको मुद्धा हुनुपर्ने हो नि ! किनकी यस क्षेत्रका जनता कृषिमा आश्रित रहेका छन् ।’
कैलारी गाउँपालिका थारु बाहुल क्षेत्र हो तर यस क्षेत्रको थारु मौलिकतालाई संरक्षण गर्ने ठोस बुँदा कहिँ उल्लेख गरेको देखिएन् । उनले गाउँपालिकालाई क्रंकिटमय बनाउने एजेण्डा मात्रै उल्लेख गरेको बताइन् ।