७ फाल्गुन २०८१, बुधबार February 19, 2025

वडाको सर्वाङ्गिण विकासका लागि वडाध्यक्षको दौडमा रामसमझ

२२ बैशाख २०७९, बिहीबार
वडाको सर्वाङ्गिण विकासका लागि वडाध्यक्षको दौडमा रामसमझ

कैलाली । कैलालीको कैलारी गाउँपालिकामा किसानले हरेक सिजनमा सम्झिने पात्रमध्ये एक हुन्, ३५ वर्षीय रामसमझ चौधरी ।

लामो समयदेखि उनले हाँक्दै आएको परिश्रम कृषि सहकारी संस्था कैलाली जिल्लामै सबैभन्दा बढी रासायनिक मल वितरण गर्ने मध्येको एक सहकारी हो ।

कैलारी गाउँपालिका वडा नं ९ घर भएका उनी सो सहकारीका व्यवस्थापक हुन् । आमनारिक माझ निकै परिचित उनी अब वडाको नेतृत्व गर्ने दौडमा छन् ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उनी कैलारी गाउँपालिका वडा नं. ९ को वडाध्यक्षका लागि स्वतन्त्र उम्मेदवार बनेका छन् ।

लामो समय सेवामूलक व्यवसायमा रमाइरहेका रामसमझ भन्छन्, ‘सहकारीको दायरा सीमित हुन्छ । जुनकारण वडावासीको सर्वाङ्गिण विकास तथा सेवा गर्ने हेतु नयाँ सोच, योजनाका साथ वडाध्यक्षमा उम्मेदवारी दिएको छु ।’

सहकारी र शिक्षा क्षेत्रमा लगाव

उनको व्यवस्थापकीय क्षमताकै कारण सो सहकारीलाई २०७३ सालमा जिल्ला कृषि विकास कार्यालय कैलालीले जिल्लाकै उत्कृष्ट सहकारीको रूपमा १ लाख १३ हजार नगदसहित पुरस्कृत गरेको थियो ।

सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कैलालीले पनि नगदसहित सो सहकारीलाई पुरस्कृत गरेको थियो । हाल सो सहकारीले रासायनिक मलको वितरण मात्रै होइन, २०७२ यता निरन्तर २४ विघामा आलु खेती गर्दै आएको छ ।

स्नातकोत्तर अध्ययनरत उनले शिक्षा क्षेत्रमा पनि अग्रणी भूमिका निर्वाह गर्दै आएका छन् । गाउँपालिकामा नमूना विद्यालय बन्न सफल जनता माध्यमिक विद्यालय गदरियाका उनी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् ।

सहकारी हुँदै राजनीतिमा प्रवेश गरेका उनी वडाध्यक्षका लागि स्वतन्त्र उम्मेवारी दिएका हुन् । नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष समेत रहेका उनलाई सत्ता गठबन्धनबीच भएको चुनावी तालमेलका कारण माओवादीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । सो वडामा अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले जितेको थियो । त्यसकारण माओवादी केन्द्रले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएको रामसमझ चौधरी सुनाउँछन् । निर्वाचन अधिकृतको कार्यालयले उनलाई कैँची चुनाव चिह्न प्रदान गरेको छ ।

चुनाव चिह्न फरक रहे पनि हाल नेकपा माओवादीको पूर्ण समर्थन रहेकाले आफ्नो जीत सुनिश्चित रहेको उनको दाबी छ ।

आफ्नो चुनावी एजेण्डा सुनाउँदै उनले भने, ‘हाम्रो वडामा कृषि क्षेत्रको विकासका लागि मेरो उम्मेदवारी हो । रासायनिक मल, बिउ बिजन अनुदानको लागि सहज पहल, सहुलियत सिँचाइको व्यवस्थाको लागि पनि मेरो उम्मेदवारी हो । हामीले सिँचाइका लागि वडास्थित शितलपुरदेखि जमुनीपुरसम्म पक्की नहर व्यवस्थापन गर्ने योजना बनाएका छौं । यहाँको जोगिनिया तालको पानी सिँचाइका लागि देवीगञ्जदेखि सामरचौरा हुँदै सिमरानासम्म पक्की नहर निर्माण गर्ने योजना हो । वडास्थित १० वटै गाउँमा शुद्ध खानेपानीका लागि वडास्थित गदरिया खानेपानीलाई सञ्चालनमा ल्याउने र अन्य गाउँमा शुद्ध खानेपानी धाराको व्यवस्थापन गर्ने हाम्रो योजना छ ।’

सो वडामा कैलालीको दोस्रो ठूलो कोइलही ताल पनि अवस्थित छ । सो ताल जिल्लाको मुख्य पर्यटन क्षेत्र पनि हो । तालमा पर्यटन प्रवद्र्धन गर्न गुरुयोजना निर्माण गरी भौतिक पूर्वाधार निर्माण, कर्मचारी व्यवस्थापनका साथै त्यहाँस्थित सामरचौरा होम स्टे सञ्चालनमा ल्याउने रामसमझको योजना छ ।

२४ बुँदे घोषणापत्र निर्माण गरेको सुनाउँदै उनले आफू वडामा चिरपरिचित र वडाबासीलाई विभिन्न माध्यममार्फत लामो समयदेखि सेवा गर्दै आएकाले जित्ने आधार रहेको बताए ।