२२ भाद्र २०८१, शनिबार September 7, 2024

आगलागी प्रभावितलाई उत्तरबेहडीबासीको सहयोग

२१ बैशाख २०७९, बुधबार
आगलागी प्रभावितलाई उत्तरबेहडीबासीको सहयोग

कैलाली । बिचल्लीमा परेका कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरका अग्नी पीडित मुक्तकमैयालाई खाद्यान्न सहयोग गरिएको छ ।
घर, सम्पत्ति, खाद्यान्न, लत्ता कपडा सबै जलेका पीडित मुक्तकमैयाहरुलाई छिमेकी गाउँका स्थानीयसहित सङ्घसंस्थाले सहयोग गरिरहेका छन् । बुधबार धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडीका स्थानीयहरुले खाद्यान्न सहयोग गरेका छन् ।
गाउँका भलमन्सा जगदीश चौधरीको अगुवाईमा संकलन गरिएको खाद्यान्न विपतपुरका भलमन्सा हिँगुराम चौधरीलाई हस्तान्तरण गरिएको हो । उत्तरबेहडीका भलमन्सा चौधरीले चामल ७२ बोरा, खानेतेल ७२ पोका र चिउरा लगायत खाद्यान्न सामाग्री सहयोग गरेको बताए । हस्तान्तरण कार्यक्रममा थरुहट नेता लक्ष्मण थारु, गाउँका सचिव बाँधुराम चौधरी लगायतको उपस्थिति रहेको थियो ।
खेतमा गहुँको नल जलाउनका लागि लगाइएको आगो बैशाख ११ गते विपतपुरका मुक्त कमैयाको घरमा सल्केको थियो । आगलागीबाट ७१ घरमा क्षति भएको छ । ४४ घर पूर्ण रुपमा जलेर खरानी भएको छ भने बाँकी २७ घरमा आङ्शिक क्षति भएको कैलारी गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ । त्यस्तै, दुई वटा पावर टिलर, आठ वटा डल्लप, १३ वटा डिजल इञ्जिन, ४५ वटा सोलार, एक वटा मोटर पम्प, विभिन्न घरमा राखिएको गरेर नगद १२ लाख रुपियाँ जलेर नष्ट भएको छ । यस्तै, थारु समुदायका महिलाले लगाउने पुर्खौली गहनाहरु जलेर नष्ट हुँदा सुन १२ तोला र अत्यधिक चाँदी जलेको छ । आगलागीबाट १२ वटा ठूला सुङ्गुर २५ पाठा र दुई वटा गोरु मरेको गाउँपालिकाको कार्यालयले जनाएको छ । घरबारविहीन बनेका पीडितलाई रेडक्रसले ७५ वटा टेन्ट उपलब्ध गराएको र अन्य संघसंस्थाबाट पनि सहयोग जुटिरहेको छ ।