धनगढी, १४ बैशाख । चर्चित गढीबाबा मेला यस वर्ष बैशाख २९ गतेदेखि लाग्ने भएको छ ।
कैलालीको सीमावर्ती भारतीय गाउँ बेलापरसुआमा यो मेला विगत लामो समयदेखि लाग्दै आएको छ । यसवर्षको मेला मे १२ देखि २० तारेकसम्म आयोजना हुने ५७ वर्ष स्वर्गीय साहब लाल श्री गढीबाबा मेला समितिले जानकारी दिएको छ । मेलामा रामलीला, थारु साँस्कृतिक कार्यक्रम, सर्कस, मौतको कुँवा विशेष आकर्षण रहने जनाइएको छ ।
यसैगरी, मेलामा गढीबाबा क्रिकेट टुर्नामेन्ट र फुटबल पेनाल्टी टुर्नामेन्टको पनि आयोजना गरिने स्थानीय लल्लन कठरियाले जानकारी दिनु भएको छ । क्रिकेट टुर्नामेन्ट विजेतालाई नगद २० हजार भारु र उपविजेतालाई ११ हजार भारु पुरस्कार दिइने जनाइएको छ । यसैगरी, फुटबल टुर्नामेन्ट विजेतालाई नगद १५ हजार भारु र उपविजेतालाई आठ हजार भारु पुरस्कार दिइने छ ।
यो मेला अवलोकनका लागि कैलाली, बर्दिया लगायत विभिन्न जिल्लाबाट नेपालीहरुसमेत पुग्ने गरेका छन् । गढीबाबा धेरै पुरानो मेला मानिन्छ ।