७ फाल्गुन २०८१, बुधबार February 19, 2025

आगलागी प्रभावितलाई ओरेकको सहयोग

१७ बैशाख २०७९, शनिबार
आगलागी प्रभावितलाई ओरेकको सहयोग

कैलाली । बिचल्लीमा परेका कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरका अग्नी पीडित मुक्तकमैयाहरुका लागि सहयोग जुट्न थालेको छ ।
घर, सम्पत्ति, खाद्यान्न, लत्ता कपडा सबै जलेका पीडित मुक्तकमैयाहरुलाई छिमेकी गाउँका स्थानीयसहित सङ्घसंस्थाले सहयोग गर्न थालेका हुन । छटकपुर बसन्ता र रामपुर, भुँइयाँफाँटाका गाउँबासीले आफूले सकेजति खाद्यान्न उठाएर सहयोग गरेका छन् ।
यसैगरी महिला पुर्नस्थापना केन्द्र (ओरेक)ले पनि आगलागी प्रभावितलाई लत्ता कपडा, पिउने पानी लगायतको सामाग्री सहयोग गरेकोछ । शुक्रबार ओरेकले महिलाका लागि मेक्सी २५० पीस, पेटीकोट २५० पीस, अण्डरवेयर ३३६ पीस, ब्रा ३३६, सेनटरी प्याड ५०० पीस, किशोरीका लागि प्लाजा १०० सेट र कुर्टी पनि १०० सेट सहयोग गरिएको छ ।
पुरुषका लागि टी सर्ट ५० पीस, हापपेन्ट ५०, बच्चाको लागि १०० सेट कपडा, जीवनजल ७१ दर्जन, ७१ कार्टुन पिउने पानी, ग्लुकोज ७१ डिब्बा सहयोग गरिएको ओरेक नेपालकी कार्यक्रम अधिकृत गीता चौधरीले जानकारी दिइन् । उक्त सामाग्री वडा नम्बर ७ का वडा सचिव गणेशराम चौधरी, ओरेककी कार्यक्रम अधिकृत गीता चौधरीले गाउँका भलमन्सा हिँगुराम चौधरीलाई हस्तान्तरण गरेका थिए ।
यसैगरि बिहीबार मात्रै परिवर्तनका लागि कार्यरत यूवा समूह, नेपाल(याक नेपाल)ले पनि अग्नी पीडित मुक्त कमैयालाई म्याट र झुल लगायत सामग्री सहयोग गरेको थियो । संस्थाले १०० थान म्याट र ५० वटा झुल संस्थाका महासचिव हृदय पुजारा र कैलारी गाउँपालिकाका योजना शाखा प्रमुख सन्तोष कुमार चौधरीले गाउँका भलमन्सा हिँगुराम चौधरीलाई हस्तान्तरण गरेका थिए ।
सामाग्री हस्तान्तरण गर्दै महासचिव पुजाराले पीडितहरुको आवश्यकताको आधारमा संस्थाले म्याट र झुल लगायत सामाग्री हस्तान्तरण गरेका बताए । त्यस्तै परियोजना अधिकृत सर्जु चौधरीले संस्थाले गरेको सहयोगले पीडितहरुलाई केही भएपनि सहयोग पुग्ने बताए । हस्तान्तरण कार्यक्रममा प्रदिप चौधरी लगायतको सहभागिता रहेको थियो ।
यसैगरी, मंगलबार फाया नेपालले प्रति परिवारलाई एक÷एक वटा पुग्ने गरी किशोरी किट ७२ सेट, झुल ७२ थान, सोलार लाइट, सेनेटरी प्याड ४३२ प्याकेट सहयोग गरेको छ ।
कैलाली एकीकृत उत्थान कार्य सञ्जाल (किरण) नेपाल हसुलियाले पनि अग्नी पीडित मुक्त कमैयालाई खाद्यान्न लगायत दैनिक उपभोग्यका वस्तु सहयोग गरेको छ । सो संस्थाले ३८ बोरा चामल, तीन पेटी खाने तेल र ७५ केजी नून सहयोग गरेको हो । संस्थाका अध्यक्ष अमृत चौधरीले पीडितलाई खाद्यान्न हस्तान्तरण गरेका थिए । यस्तै मोहनपुर, शिवपुर, नारायणपुर, तिघरी गाउँवासीले गाउँबाट आफूले खाद्यान्न उठाएर सहयोग गरेको गाउँका भलमन्सा हिँगुराम चौधरीले बताए ।
खेतमा गहुँको नल जलाउनका लागि लगाइएको आगो आइतबार विपतपुरका मुक्त कमैयाको घरमा सल्केको थियो । आगलागीबाट ७१ घरमा क्षति भएको छ । ४४ घर पूर्ण रुपमा जलेर खरानी भएको छ भने बाँकी २७ घरमा आङ्शिक क्षति भएको कैलारी गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ । त्यस्तै, दुई वटा पावर टिलर, आठ वटा डल्लप, १३ वटा डिजल इञ्जिन, ४५ वटा सोलार, एक वटा मोटर पम्प, विभिन्न घरमा राखिएको गरेर नगद १२ लाख रुपियाँ जलेर नष्ट भएको छ । धेरै जसो मुक्त कमैया कमाएर नयाँ वर्षमामात्रै भारतबाट फर्केका थिए । यस्तै, थारु समुदायका महिलाले लगाउने पुर्खौली गहनाहरु जलेर नष्ट हुँदा सुन १२ तोला र अत्यधिक चाँदी जलेको छ । आगलागीबाट १२ वटा ठूला सुङ्गुर २५ पाठा र दुई वटा गोरु मरेको गाउँपालिकाको कार्यालयले जनाएको छ ।
घरबारविहीन बनेका पीडितलाई रेडक्रसले ७५ वटा टेन्ट उपलब्ध गराएको र अन्य संघसंस्थाबाट पनि सहयोग जुटिरहेको कैलारी गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले बताए ।