७ बैशाख २०८१, शुक्रबार April 19, 2024

विपतपुरमा खानेपानीको समस्या

१५ बैशाख २०७९, बिहीबार
विपतपुरमा खानेपानीको समस्या

कैलाली । बिचल्लीमा परेका अग्नी पीडित कैलालीको कैलारी गाउँपालिका–७ विपतपुर मुक्त कमैया शिविरमा पिउने पानीको समस्या भएको छ ।
आगलागीले गाउँमा भएका सबै नलमा क्षति पु¥याएपछि पिउने पानीको समस्या सृजना भएको हो । बस्तीमा भएका सबै नलमा आगोले क्षति पु¥याएपछि पिउने पानीको समस्या भएको भलमन्सा हिँगुराम चौधरीले बताए । आगोले कुनै नल जलेका र कुनै नलको मुहान नै सुकाएपछि पानी आउन छाडेका भलमन्सा चौधरीले बताए । प्रचण्ड गर्मीमा बस्तीमा पिउने पानीको काकाकुल भएपछि झनै समस्या भएको भलमन्सा चौधरीले बताए ।
‘आगलागीले गाउँमा भएको सबै नलमा क्षति पुगेको छ’, भलमन्सा चौधरीले भने–‘ आगलागीले कुनै नल जलेको छ भने कुनै नलको मुहान नै सुकेको छ, त्यसले पिउने पानीको समस्या सृजना भएको छ ।’
खानेपानीका लागि गाउँपालिका लगायत विभिन्न संघसंस्थाले उच्च नल्का, सिलिण्डर सिस्टम लगायतका खानेपानीको व्यवस्थापन गरेको थियो ।
खेतमा गहुँको नल जलाउनका लागि लगाइएको आगो आइतबार विपतपुरका मुक्त कमैयाको घरमा सल्केको थियो । आगलागीबाट ७१ घरमा क्षति भएको छ । ४४ घर पूर्ण रुपमा जलेर खरानी भएको छ भने बाँकी २७ घरमा आङ्शिक क्षति भएको कैलारी गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ । त्यस्तै, दुई वटा पावर टिलर, आठ वटा डल्लप, १३ वटा डिजल इञ्जिन, ४५ वटा सोलार, एक वटा मोटर पम्प, विभिन्न घरमा राखिएको गरेर नगद १२ लाख रुपियाँ जलेर नष्ट भएको छ । धेरै जसो मुक्त कमैया कमाएर नयाँ वर्षमामात्रै भारतबाट फर्केका थिए । यस्तै, थारु समुदायका महिलाले लगाउने पुर्खौली गहनाहरु जलेर नष्ट हुँदा सुन १२ तोला र अत्यधिक चाँदी जलेको छ । आगलागीबाट १२ वटा ठूला सुङ्गुर २५ पाठा र दुई वटा गोरु मरेको गाउँपालिकाको कार्यालयले जनाएको छ ।
घरबारविहीन बनेका पीडितलाई रेडक्रसले ७५ वटा टेन्ट उपलब्ध गराएको र अन्य संघसंस्थाबाट पनि सहयोग जुटिरहेको कैलारी गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले बताए ।