११ माघ २०८१, शुक्रबार January 24, 2025

अग्नी पीडित मुक्त कमैयालाई याक नेपालको सहयोग

१५ बैशाख २०७९, बिहीबार
अग्नी पीडित मुक्त कमैयालाई याक नेपालको सहयोग

कैलाली । बिचल्लीमा परेका कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरका अग्नी पीडित मुक्त कमैयाका सहयोग जुट्न थालेको छ ।
घर, सम्पत्ति, खाद्यान्न, लत्ता कपडा सबै जलेका पीडित मुक्त कमैयाहरुलाई छिमेकी गाउँका स्थानीयसहित सङ्घसंस्थाले सहयोग गर्न थालेका हुन । छटकपुर बसन्ता र रामपुरका गाउँवासीले गाउँबाट आफूले सकेजति खाद्यान्न उठाएर सहयोग गरेका छन् ।
यसैगरी परिवर्तनका लागि कार्यरत यूवा समूह, नेपाल(याक नेपाल)ले पनि अग्नी पीडित मुक्त कमैयालाई म्याट र झुल लगायत सामग्री सहयोग गरेको छ । संस्थाले १०० थान म्याट र ५० वटा झुल संस्थाका महासचिव हृदय पुजारा र कैलारी गाउँपालिकाका योजना शाखा प्रमुख सन्तोष कुमार चौधरीले गाउँका भलमन्सा हिँगुराम चौधरीलाई हस्तान्तरण गरेका थिए ।
सामाग्री हस्तान्तरण गर्दै महासचिव पुजाराले पीडितहरुको आवश्यकताको आधारमा संस्थाले म्याट र झुल लगायत सामाग्री हस्तान्तरण गरेका बताए । त्यस्तै परियोजना अधिकृत सर्जु चौधरीले संस्थाले गरेको सहयोगले पीडितहरुलाई केही भएपनि सहयोग पुग्ने बताए । हस्तान्तरण कार्यक्रममा परियोजना अधिकृत प्रदिप चौधरी लगायतको सहभागिता रहेको थियो ।
यसैगरी, मंगलबार फाया नेपालले प्रति परिवारलाई एक÷एक वटा पुग्ने गरी किशोरी किट ७२ सेट, झुल ७२ थान, सोलार लाइट, सेनेटरी प्याड ४३२ प्याकेट सहयोग गरेको छ ।
कैलाली एकीकृत उत्थान कार्य सञ्जाल (किरण) नेपाल हसुलियाले पनि अग्नी पीडित मुक्त कमैयालाई खाद्यान्न लगायत दैनिक उपभोग्यका वस्तु सहयोग गरेको छ । सो संस्थाले ३८ बोरा चामल, तीन पेटी खाने तेल र ७५ केजी नून सहयोग गरेको हो । संस्थाका अध्यक्ष अमृत चौधरीले पीडितलाई खाद्यान्न हस्तान्तरण गरेका थिए । यस्तै मोहनपुर, शिवपुर, नारायणपुर, तिघरी गाउँवासीले गाउँबाट आफूले खाद्यान्न उठाएर सहयोग गरेको गाउँका भलमन्सा हिँगुराम चौधरीले बताए ।
खेतमा गहुँको नल जलाउनका लागि लगाइएको आगो आइतबार विपतपुरका मुक्त कमैयाको घरमा सल्केको थियो । आगलागीबाट ७१ घरमा क्षति भएको छ । ४४ घर पूर्ण रुपमा जलेर खरानी भएको छ भने बाँकी २७ घरमा आङ्शिक क्षति भएको कैलारी गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ । त्यस्तै, दुई वटा पावर टिलर, आठ वटा डल्लप, १३ वटा डिजल इञ्जिन, ४५ वटा सोलार, एक वटा मोटर पम्प, विभिन्न घरमा राखिएको गरेर नगद १२ लाख रुपियाँ जलेर नष्ट भएको छ । धेरै जसो मुक्त कमैया कमाएर नयाँ वर्षमामात्रै भारतबाट फर्केका थिए । यस्तै, थारु समुदायका महिलाले लगाउने पुर्खौली गहनाहरु जलेर नष्ट हुँदा सुन १२ तोला र अत्यधिक चाँदी जलेको छ । आगलागीबाट १२ वटा ठूला सुङ्गुर २५ पाठा र दुई वटा गोरु मरेको गाउँपालिकाको कार्यालयले जनाएको छ ।
घरबारविहीन बनेका पीडितलाई रेडक्रसले ७५ वटा टेन्ट उपलब्ध गराएको र अन्य संघसंस्थाबाट पनि सहयोग जुटिरहेको कैलारी गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले बताए ।