कैलाली । कैलारी गाउँपालिका वडा नम्बर ७ विपतपुर मुक्तकमैया शिविरका अग्नी पीडितलाई विभिन्न सामाग्री सहयोग गरिएको छ ।
फाया नेपालले यूएनएफपीए कन्ट्री प्रोग्राम र सुआहारा परियोजना अन्र्तगत सहयोग गरेको हो । फाया नेपालका कार्यक्रम निर्देशक शेरबहादुर बस्नेतले महिला, किशोरी, जेष्ठ नागरिकहरुका लागि २ लाख ६६ हजार बढीको सामाग्री सहयोग गरेको बताए ।
उनले किशोरीका लागि किशोरी किट ७२ सेट(प्रति परिवार १ सेट), झूल ७२ वटा, सोलार लाइट ७२ वटा, सेनीटरी प्याड ४३२ प्याकेट (प्रतिपरिवार ६ प्याकेट) सामाग्री गाउँका भलमन्सा हिँगुराम चौधरीलाई हस्तान्तरण गरेको बताए ।
आइतबार भएको भिषण आगलागीलीबाट शिविरको ३८ घरबढी पूर्ण रुपले नष्ट र ३४ घर आंशिक रुपमा जलेर नष्ट भएका छन् ।
सामाग्री हस्तान्तरण कार्यक्रममा कैलारी गाउँपालिकाका सुचना अधिकारी यगम कलेल, शिक्षा शाखा प्रमुख गणेश प्रसाद मिश्र, फाया नेपालका शेरबहादुर बस्नेत, धनपति ढुङ्गेल लगायतको उपस्थिति रहेको थियो ।
यस्तै छटकपुर बसन्ताका किसानहरुले गाउँबाट खाद्यान्न संकलन गरि सहयोग गरेका छन् । गाउँका भलमन्सा जीयाराम चौधरीको अगुवाईमा संकलन गरेको १५ क्वीन्टल चामल र १५ क्वीन्टल गहुँ विपतपुरका भलमन्सा हिँगुराम चौधरीलाई हस्तान्तरण गरेका थिए ।