२० मंसिर २०८१, बिहीबार December 5, 2024

कैलालीमा तीन दलीय गठबन्धन : कुन पालिका कसको भागमा ?

१२ बैशाख २०७९, सोमबार
कैलालीमा तीन दलीय गठबन्धन : कुन पालिका कसको भागमा ?

धनगढी । कैलालीमा सत्ता गठबन्धनमा आवद्ध तीन दलबीच सिट बाँडफाँडमा सहमति भएको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीच सिट बाँडफाँडमा सहमति भएको हो । त्यस्तै, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीसँग वडा तहमा मित्रवत प्रतिस्पर्धा हुने बताइएको छ ।
आइतबार मध्यराति भएको सहमतिअनुसार जिल्लामा टुंगो लाग्न बाँकी १२ स्थानीय तहमध्ये ६ पालिका प्रमुख र ६ पालिका उपप्रमुख नेपाली काँग्रेसको भागमा परेको छ । यस्तै ४ पालिका प्रमुख र ५ पालिका उपप्रमुख माओवादी केन्द्र र २ पालिका प्रमुख र एक पालिका उपप्रमुख एकीकृत समाजवादीको भागमा परेको छ ।
गोदावरी नगरपालिका, लम्कीचुहा नगरपालिका, टीकापुर नगरपालिका, बर्दगोरिया गाउँपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसले पाएको छ । काँग्रेसले पाएको गोदावरी नगरपालिकामा एकीकृत समाजवादी र बाँकीमा माओवादी केन्द्रले उपप्रमुख पाएको छ ।
यस्तै गौरीगंगा नगरपालिका, भजनी नगरपालिका, कैलारी र मोहन्याल गाउँपालिका माओवादी केन्द्रले पाएको छ भने चुरे र घोडाघोडी नगरपालिका एकीकृत समाजवादीले प्रमुख पाएको छ । यी सबै पालिकामा उपप्रमुख नेपाली काँग्रेसले पाएको छ । यसअघि नै धनगढी उपमहानगरपालिकाको भागबन्डा भने केन्द्रीय गठबन्धनले टुंगो लगाइसकेको छ । धनगढीमा मेयर काँग्रेस र उपमेयर माओवादी केन्द्रको भागमा परेको छ ।