कैलाली । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ स्थित विपतपुर मुक्तकमैया शिविरमा भएको भिषण आगलागीबाट पुरै वस्ती खरानी भएको छ ।
आइतबार दिउँसो साढे १ बजेदेखि शुरू भएको आगलागी साँझ साढे ४ बजे मात्रै नियन्त्रणमा आएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । आगलागीबाट ७१ घरधुरीले बनाएको घर, गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । एक्कासि भएको आगलागीले स्थानीयवासीका लत्ताकपडा, खाद्यान्न, चौपाया जलेर नष्ट भएका छन् ।
आगलागीको घटना प्रति विभिन्न राजनीतिक दलले गहिरो दुःख व्यक्त गर्नुका साथै पीडितलाई तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् ।
नेपाली काँग्रेस कैलाली जिल्ला कार्यसमितिका सचिव केसव राज मिश्रले एक प्रेस विज्ञप्ती जारी गर्दै आगलागीबाट हुन पुगेको क्षतिको उचित मूल्यांकन गरि तत्काल राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न स्थानीय सरकार, प्रदेश सरकार र नेपाल सरकारसँग माग गरेका छन् । ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) कैलारी गाउँ कमिटीले पनि प्रेस विज्ञप्ती जारी गर्दै पीडितलाई आवश्यक राहत र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेको छ ।
नेकपा (माओवादी केन्द्र) कैलारी अध्यक्ष बतासु चौधरीले विज्ञप्ती जारी गर्दै आगलागीबाट हुन पुगेको क्षतिको उचित मूल्यांकन गरि तत्काल राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न स्थानीय सरकार, प्रदेश सरकार र नेपाल सरकारसँग माग गरेका छन् ।
साथै उनले कमैया मुक्ति घोषणा भएको दुई दशक भए पनि बस्तीको दीगो व्यवस्थापनमा सरकारी पक्षबाट हुँदै आएको वेवास्ताको पनि घोर भत्र्सना गर्दै दीगो व्यवस्थापनको लागि समेत जोडदार माग गरेका छन् ।