९ बैशाख २०८१, आईतवार April 21, 2024

मुक्तकमैया शिविरमा लागेको आगो नियन्त्रणमा, स्थानीयवासीको कन्तबिजोग (फोटो फिचर सहित)

११ बैशाख २०७९, आईतवार
मुक्तकमैया शिविरमा लागेको आगो नियन्त्रणमा, स्थानीयवासीको कन्तबिजोग (फोटो फिचर सहित)

कैलाली । कैलालीको कैलारी गाउँपालिका–७ बिपतपुर मुक्तकमैया शिविरमा लागेको आगो झण्डै ४ घण्टापछि नियन्त्रणमा आएको छ ।
आइतवार दिउँसो साढे १ बजेदेखि शुरू भएको आगलागी साँझ साढे ४ बजे मात्रै नियन्त्रणमा आएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । तर, अझै घरका खामामा लागेको आगो ननिभेको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।
उनका अनुसार ७१ घरधुरीले बनाएको घर, गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । एक्कासि भएको आगलागीले स्थानीयवासीका लत्ताकपडा, खाद्यान्न, चौपाया जलेर नष्ट भएका छन् । तर, मानवीय क्षति भने नभएको प्रजिअ थापाले बताए ।
घटनाको कारण र यकिन तथ्यांक आउन बाँकी रहेको बताउँदै उनले घटनाबारे अनुसन्धान जारी रहेको उल्लेख गरे ।
जिल्लाको निकै दुर्गममा रहेको सो वस्तीमा तत्कालै अग्नि नियन्त्रक स्रोतसाधन पुग्न नसक्दा ठूलो क्षति भएको स्थानीयवासीले बताएका छन् ।
आगलागी भएको निकै समयपछि मात्रै टीकापुर, धनगढी, घोडाघोडी नगरपालिकाबाट गएको दमकल र कैलारी गाउँपालिकाको एक्साभेटरको सहायता तथा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको लामो प्रयासले आगो नियन्त्रणमा आएको हो ।
वस्ती नै खरानी भएपछि स्थानीय प्रशासनले तत्कालका लागि स्थानीयलाई त्रिपाल, खानेकुराको व्यवस्था गर्न लागेको प्रजिअ थापाले जानकारी दिए ।
घर भर्खरै भित्र्याएको गहुँसहित खाद्यान्न, शरीरमा भएको लत्ता कपडाबाहेक सबै सम्पत्ति जलेर नष्ट भएपछि स्थानीयको कन्तबिजोग भएको छ ।
आगलागीपछि वस्ती नै मर्माहत भएको बताउँदै बस्तीका भलमन्सा हिँगुराम चौधरीले कहाँ बास बस्ने र के खाने ? बारे कुनै ठेगान नभएको दुखेसो पोखे ।
गहुँको नलमा लगाइएको आगो गएर मुक्त कमैया बस्तीमा सल्केको वडा अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए । उनका अनुसार आगलागीबाट ७३ मध्ये धेरै घर जलेर नष्ट भएका छन् । खर र टिनको छानो भएको बस्तीमा आगलागी हुँदा ठूलो क्षति भएको हो ।
आगलागीबाट अन्नबालीका साथै बङ्गुर, पशु चौपायासहित धनसम्पत्ती जलेर नष्ट भएको अध्यक्ष चौधरीको भनाइ छ ।
आगलागी प्रभावित मुक्त कमैयाको खाद्यान्न, लत्ताकपडा, सम्पत्ती सबै जलेकाले उनीहरुलाई तत्कालका लागि कैलारी गाउँपालिकाले गाउँपालिकामा रहेकोे झुल, औषधिसहित सुख्खा खाद्यान्न दिएको छ । यसैगरी, गाउँपालिकाले तत्काल एक÷दुई छाक पुग्ने गरी प्रत्येक परिवारलाई चामल पनि पठाएको अध्यक्ष चौधरीले बताए । ‘केही दिनलाई पुग्ने गरी चामल सबै परिवारलाई सोमबारसम्म उपलब्ध गराउँछौं’, उनले भने । त्यस्तै, नेपाल रेडक्रस टीकापुर शाखाले एक ट्रयाक्टर ट्रली भाँडाकुँडा प्रभावितलाई उपलब्ध गराएको जनाइएको छ ।
घर जलेर प्रभावितहरु घरबारविहीन रहेकाले प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा रहेको त्रिपाल अग्नी पीडित मुक्त कमैयाको लागि माग गरिएको अध्यक्ष चौधरीले बताए ।