धनगढी । कैलालीको कैलारी गाउँपालिका–७ स्थित विपतपुर मुक्त कमैया शिविरमा भिषण आगलागीले बस्ती नै सखाप भएको छ । । दिउँसो १२ बजेतिर भएको आगलागी साँझ ५ बजेसम्म नियन्त्रणमा आएको छैन । आगलागीबाट ५० बढी घर जलेर नष्ट भएको जनाइएको छ । शिविरमा ७२ घरधुरी रहेको छ ।
गहुँको नलमा लगाएको आगो हावाले उडाएर बस्तीमा सल्केको बताइएको छ । गहुँको नलमा लगाएको आगो हावाले उडाएर बस्तीमा सल्किएको शिविरका भलमन्सा हिँगुराम चौधरीले सुनाए । उनले रुँदै भने, ‘हजुर हामीलाई बचाऊ, केही बाँकी रहेन । लत्ता कपडा, अन्न, पशु चौपाया सबै जले ।’
धनगढी, टीकापुर नगरपालिका र घोडाघोडी नगरपालिकाबाट गएको दमकल, प्रहरी र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेको रामपुरका भलमन्सा रामलाल चौधरीले बताए ।
कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले आगलागीबाट भएको क्षतिको यकिन हुन नसकेको बताए । ‘अहिले म र सिडियो साब घटनास्थलतर्फ गइरहेका छौं । धनगढी र टीकापुरको दमकल आगो नियन्त्रणको प्रयास गर्दैछन्, अन्य स्थानीय तहको दमकम पनि मगाइरहेका छौं,’ उनले भने ।
शिविरका सबैको लत्ता कपडा, अन्नपात जलेर नष्ट भएको छ । अहिले ससाना बालबालिका, वृद्धवृद्धा भोकभोकै बसेका छन् । आगलागी नियन्त्रणमा संलग्न छटकपुर बसन्ताका भलमन्सा जिया चौधरीले शिविरमा आगलागी पश्चात भोकमरी सृजना भएको बताए । उनले अहिले ससाना बालबालिका, वृद्धवृद्धा भोकभोकै बसेको बताए ।
यता आन्तिरक मामिला तथा कानुन मन्त्रालयले राहत सामग्री घटना स्थलमा गएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री डा. रणबहादर रावलले पीडितलाई तत्काल उद्दार र राहत सामग्री उपलब्ध गराउन निर्देशन दिएका छन् ।