१२ चैत्र २०८१, बुधबार March 26, 2025

विकासवादी व्यक्तित्व र शहीदलाई सम्मान स्वरुप बाटो नामाकरण

१० बैशाख २०७९, शनिबार
विकासवादी व्यक्तित्व र शहीदलाई सम्मान स्वरुप बाटो नामाकरण

अविनाश चौधरी

धनगढी । विकासवादी व्यक्तित्व र जनयुद्धका शहीदलाई सम्झिने तरिका के होला ? धेरै ठाउँमा स्मारक वा प्रतिमा बनाइएको देखिन्छ । तर, कैलालीको एक स्थानीय तहले विकासवादी व्यक्तित्व र जनयुद्धका शहीदहरुलाई सम्झनाका लागि बेग्लै तरिका अपनाएको छ।

थारु समुदायको बाहुल्यता रहेको कैलारी गाउँपालिकाले त्यस्ता व्यक्तिको नाममा सडक चिनाउने गरी सम्झिने उपाय अपनाएको हो । गाउँपालिकाको कार्यालयले विकासवादी व्यक्तित्व र शहीदको नाममा सडक नामाकरण गरेको छ । गाउँपालिमा रहेका कच्ची र पक्की सडकहरु एक जना विकासवादी व्यक्तित्व र बाँही द्वन्द्वकालीन शहीदका नामबाट चिनिने गरेको छ । विकासवादी व्यक्तित्व र द्वन्द्वकालीन शहीदहरुका सम्झना एवम् सम्मानस्वरुप शहीदका नामले सडकहरुको नामाकरण गरिएको सो गाउँपालिकाको कार्यालयले जनाएको छ ।

शहीदहरुको बलिदानबाट अहिलेको व्यवस्था आएकाले उनीहरुको सम्मानस्वरुप गाउँपालिकाभित्रका सडकहरु शहीदहरुकै नामबाट नामाकरण गरिएको गाउँपालिकाका प्रवक्ता कमलप्रसाद चौधरीले बताए । ‘हामीले शहीदभित्रका मुख्य व्यक्तित्व र एक विकासवादी व्यक्तित्वका नामले सडकको नामाकरण गरेका छौं’, उनले भने । ‘मुख्य–मुख्य व्यक्तिलाईमात्रै समेट्न सकेका छौं । अझै पनि अरु धेरै छुट्नु भएको छ ।’

गाउँपालिकाको कार्यालयले वडा नम्बर १ को हसुलिया बजारदेखि रानामुडा हुँदै वडा नम्बर २ को उजलीसेमर जोड्ने सडकलाई ‘जोखन रत्गैयाँ डगर’ नामाकरण गरेको छ । माओवादी जनयुद्धका एक योद्धा रत्गैयाँ ‘मुक्तिक डगर’ पत्रिकाका सम्पादक थिए । यसैगरी, थारु राष्ट्रिय मुक्ति मोर्चाको संस्थापक सदस्य पनि थिए । कैलालीको करमदेवमा सुरक्षाकर्मीको गोली प्रहारबाट उनको ज्यान गएको थियो । केही किलोमिटर दूरीमा यो सडक कालोपत्रे भएको छ ।

वडा नम्बर ५ को सडकपुरदेखि वडा नम्बर २ लोहरपुरसम्मको सडकलाई ‘चक्रबहादुर डङ्गौरा डगर’ नामाकरण गरिएको छ । डङ्गौरा नेकपा एमालेबाट प्रत्यक्षतर्फ निर्वाचित सांसद् थिए । तत्कालीन विद्रोही पक्षद्वारा उनको हत्या भएको थियो । डङ्गौरा कुकुरभुक्का गाउँवासी थिए । सो सडकले कुकुरभुक्का गाउँलाई पनि छुने गरेको छ ।

यस्तै, वडा नम्बर ८ को मोहनी बजारदेखि बनकनरी हुँदै वडा नम्बर ९ को गदरिया बजारसम्मको सडकलाई ‘विनोद चौधरी डगर’ नाम दिइएको छ । राज्यपक्षबाट बेपत्ता पारिएका चौधरी कैलालीको पहिलो जनसरकार प्रमुख थिए । उनी अझै बेपत्ताको सूचीमा रहेका छन् ।
यस्तै, वडा नम्बर ५ को बैजपुरदेखि बड्का बसन्ता, छटकपुर, भुईयाँफाँटा हुँदै रामपुरसम्मको सडकलाई ‘रामप्रसाद पल्परिया डगर’ नामाकरण गरिएको छ । जनयुद्धका योद्धा पल्परियालाई सुरक्षाकर्मीले पक्राउ गरेर कञ्चनपुर जेलमा राखेको थियो । जेल तोडेर भाग्ने क्रममा सुरक्षाकर्मीको घेरामा परी पल्परियाको ज्यान गएको थियो । सो घट्नामा माओवादीका अन्य कैदी भने भाग्न सफल भएका थिए ।

यसैगरी, सुर्मिनालादेखि बड्का मुडा गाउँसम्मको सडकलाई ‘छिमानन्द महतो डगर’ नामाकरण गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उनी राजाको पालामा मन्त्री थिए । आफू मन्त्री भएको बेलामा महतोले सिँचाइका लागि कैलारी गाउँपालिकामा पर्ने गुर्गी र टेँढी बाँध निर्माण गराएका थिए । उनलाई गाउँपालिकाले विकासवादी व्यक्तित्वको रुपमा सम्मान दिएर बाटोको नामाकरण गरेको छ ।

यस्तै, वडा नम्बर ७ को रामपुर बजारदेखि भुईयाँफाँटा–रतनपुर–मोहनपुर हुँदै बड्का पलियासम्मको सडकलाई गाउँपालिकाले ‘दशीराम चौधरी डगर’ नामाकरण गरिएको छ । भुईयाँफाँटा गाउँमा जन्मिएका चौधरी माओवादीको बटालियन कमाण्डर थिए । कैलालीको खिमडीमा सुरक्षाकर्मीसंग भएको भिडन्तको क्रममा उनको ज्यान गएको थियो ।

तत्कालीन द्वन्द्वको क्रममा कैलारी गाउँपालिकाका कैयौं व्यक्ति राज्यपक्षबाट मारिएका थिए । सो गाउँपालिकामा माओवादीतर्फका ६९ जना शहीद रहेका जनाइएको छ ।गाउँपालिकाको कार्यालयले द्वन्द्वकालीन शहीदको सम्मान र सम्झना स्वरुप उनीहरुको सडक नामाकरण गर्नुलाई सकारात्मक रुपमा लिएको माओवादी केन्द्र कैलारी गाउँपालिकाका अध्यक्ष बतासु चौधरीले बताउँछन् ।

‘गाउँपालिकाले माओवादीकामात्रै नभइ मुख्य सबै व्यक्तित्वलाई समेटेको छ’, उनले भने । ‘हाम्रो पार्टीको यो निर्णय पनि थियो र यसलाई अत्यन्त सकारात्मक रुपमा लिएका छौं ।’