७ फाल्गुन २०८१, बुधबार February 19, 2025

कृष्णपुरमा बडघर र भलमन्साका लागि पाँच लाखको अक्षय कोष

३ बैशाख २०७९, शनिबार
कृष्णपुरमा बडघर र भलमन्साका लागि पाँच लाखको अक्षय कोष

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले थारु समुदायको अगुवाइ गर्ने बडघर र भलमन्साको नगरस्तरीय समितिका लागि पाँच लाखको अक्षय कोष स्थापना गरेको छ।
बडघर भलमन्सा समितिलाई संस्थागतरुपमा कार्य अगाडि बढाउनका लागि सहयोग पुर्याउन अक्षय कोष स्थापना गरिएको हो। कोषको रकमको व्याजबाट बडघर भलमन्साले आयोजना गर्ने सामाजिक कार्यसँगै बैठक, छलफल, सांस्कृतिक समारोह, कलासंस्कृति जगेर्ना गर्ने कार्यमा सघाउ पुर्याउने नगर प्रमुख कर्णबहादुर हमालले बताए।
“सामाजिक र सांस्कृतिक समारोह आयोजना गर्न आवश्यक रकमको चाँजोपाँजो मिलाउनका लागि सहयोगी संस्था गुहार्नुपर्ने अवस्था रहेको थियो”, उनले भने, “यसै आर्थिक समस्यालाई मध्यजनगर गरी कोष स्थापना गरेका हौँ, यसबाट बडघर भलमन्सा लाभान्वित हुने विश्वास लिएका छौँ।”
थारु समुदायमा बडघरले गाउँको सामाजिक रीतितिथि मिलाउने कार्यसँगै सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने, वैवाहिक, धार्मिक कार्यमा सघाउ पुर्याउने गर्दछन्। अंशबण्डा, जग्गाको साँध सिमानाको विवाद मिलाउने कार्य वडघरले गर्दछन्। थारु समुदायमा बडघर र भलमन्साको स्थानलाई महत्वपूर्ण मानिन्छ।
नगरपालिका क्षेत्रमा रहेका ७२ बडघर भलमन्सा समितिका कार्यलाई अगाडि बढाउनका लागि १० लाखका कुर्सी वितरण गरिएको छ। प्रत्येक समितिलाई १५ का दरले कुर्सी वितरण गरिएको हो।

रासस