२६ आश्विन २०८१, शनिबार October 12, 2024

धनगढीमा मेट्रिक ठेगाना प्रणालीको सुरुवात

२३ चैत्र २०७८, बुधबार
धनगढीमा मेट्रिक ठेगाना प्रणालीको सुरुवात

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाले मेट्रिक ठेगाना प्रणालीको सुरुवात गरेको छ । बुधबार धनगढीको एलएनचोकबाट मेयर नृपबहादुर वडले उक्त प्रणालीको उद्घाटन गरे ।
मेट्रिक ठेगाना प्रणाली अन्तर्गत घर–घरमा प्लेट जडान गरिनेछ । मेयर वडले धनगढीको वडा नम्बर एक एलएनचोकमा रहेको निजी घरमा नम्बर प्लेट लगाएर प्रणालीको सुरुवात गरेका हुन् । सुरुवातमा उपमहानगरको १, २, ३, ४ र ५ मा यो प्रणाली लागू गरिने मेयर वडले बताए ।
‘अघिल्लो वर्ष नै यो कार्यक्रमको सुरुवात गर्ने कार्यक्रम रहेको थियो’, मेयर वडले भने, ‘कोरोनाका कारण हुन सकेन । पहिलो चरणमा १, २, ३, ४ र ५ मा सुरु गरिनेछ । विस्तारै १९ वटै वडामा विस्तार गरिनेछ ।’
सहरी व्यवस्थापनका विभिन्न तत्वहरूमध्ये ठेगाना प्रणाली एउटा महत्वपूर्ण पक्ष भएको उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले बताए । यसले आमरूपमा ‘घर नम्बर’ भनेर बुझ्ने गरिने गरेको उनको भनाइ छ ।
‘यस प्रणालीले सहरवासीलाई सरकारका निकाय र अन्य विभिन्न सेवाप्रदायकले प्रदान गर्ने सेवा सुविधा सहज बनाउनसँग प्रत्यक्ष सरोकार राख्छ’, उनले भने, ‘सेवाप्रदायक र उपभोक्ता (घर परिवार) दुवै पक्षलाई यसले सेवा प्रदान तथा ग्रहण प्रभावकारी बनाउन सहयोग गर्दछ ।’
बाटाको चोक तथा मिलन विन्दु (दोबाटो चौबाटो)देखि कुनै निश्चित घरको दूरी (लम्बाइ)का आधारमा घर ठेगाना पत्ता लगाउन सकिन्ने इन्जिनियर दिजराज भट्टले बताए ।
‘चोकको दूरीलाई आधार मानेर घरको नम्बर, टोल र बाटोको नाम उल्लेख गरी सोही आधारमा गरिने ठेगाना प्रणालीलाई मेट्रिक ठेगाना प्रणाली भनिन्छ’ इन्जिनियर भट्टले भने, ‘यस प्रणालीले बाटोको नाम र दूरीको आधारमा घर नम्बर प्रदान गर्ने भएका कारण जुनसुकै मानिसलाई पनि घर पहिल्याउन सहज हुनेछ ।’

दूरीका आधारमा घर नम्बर राखिने भएकोले घर पहिल्याउन समस्या नहुने उनको भनाइ छ । घरसँग जोडिएको बाटोको सुरुको विन्दुदेखि घरको मूल ढोकासम्मको दूरी घरको नम्बर प्लेटमा राखिने भएका कारण घर पहिल्याउन सहज हुने भट्टले बताए ।