१८ बैशाख २०८३, शुक्रबार May 1, 2026

नवजीवन अस्पतालले मनायो २०औं बार्षिकोत्सव

१७ फाल्गुन २०८२, आईतवार
नवजीवन अस्पतालले मनायो २०औं बार्षिकोत्सव

धनगढी, १७ फागुन । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा निजी स्तरको लगानीबाट सञ्चालित नवजीवन अस्पताल स्थापनाको २०औं वर्ष पूरा गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तर बेहडीमा २०६२ साल फागुन १७ गते स्थापना भएको निजी क्षेत्रको प्रदेशकै पहिलो अस्पताल नवजीवनले विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।
२०६२ सालमा १५ शय्याबाट सुरु भएको नवजीवनले २०६८ सालबाट ५० शय्या सञ्चालनको अनुमति पाएको थियो । स्वास्थ्य सेवा विभागबाट ५० शय्या सञ्चालनको अनुमति पाएको नवजीवनले २०७९ असोजदेखि एकसय शय्याबाट उपचार सेवा प्रदान गरिरहेको छ ।


अस्पतालमा विभिन्न किसिमका सेवा सञ्चालन, उपचार सेवाका अतिरिक्त शैक्षिक कार्यक्रम समेत सञ्चालन गर्दै आएको नवजीवन अस्पतालमा २४ सैं घण्टा १७ किसिमको उपचार सेवा रहेको अस्पतालका निर्देशक डाक्टर विदुरमणि ढकालले बताए । उनले हाल एकसय शय्या क्षमतामा उपचार प्रदान गरिरहेको अस्पतालमा थप सेवा सुविधा थप्दै जाने समेत जानकारी दिए ।
निजी लगानीबाट सञ्चालित नवजीवन अस्पतालले सामाजिक उत्तरदायित्व बहन गर्दै नेपाल सरकारसँगको सहकार्यमा विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । अस्पतालले आमा सुरक्षा कार्यक्रम, खोप कार्यक्रम क्षयरोगका बिरामीको निःशुल्क औषधि वितरण लगायतको उपचार सेवा प्रदान गर्दै आएको जनाएको छ ।
अस्पतालबाट एक वर्षको अवधिमा ५० हजार ८०८ जना बिरामीले उपचार सेवा पाएका छन् । अस्पतालले आव २०८१ फागुन देखि २०८२ माघ मसान्तसम्म एक वर्षमा अस्पतालबाट ५० हजार ८०८ जना बिरामीले उपचार सेवा पाएका हुन् ।
अस्पताल भित्र तथा विभिन्न स्थानमा सञ्चालित स्वाथ्य शिविर मार्फत ६ हजार ३४८ जनालाई निःशुल्क सेवा दिएको मेडिकल डाइरेक्टर डा. ढकालले जानकारी दिए ।
त्यसैगरि अस्तालले दुईहजार ७५ जनालाई निःशुल्क सुत्केरी सेवा र तीन हजार २३९ जना बालबालिकालाई निःशुल्क खोप पनि दिएको जनाएको छ । साथै अस्पतालले इमरजेन्सीबाट चार हजार ३३६ जना, बहिरंगबाट ३५ हजार ८ र अन्तरंगबाट ६ हजार १५० जना विरामीलाई सेवा दिएको जनाएको छ ।
सोही अवसरमा अस्पतालले आफ्नो वार्षिकोत्सवको अवसर रक्तदान र विरामीलाई फलफुल वितरण पनि गरेको जनाएको छ ।
अस्पतालमा डिप्लोमा तहको नर्सिङ, सामान्य चिकित्सा र फार्मेसीको अध्यापन हुने गरेको छ । अस्पतालमा हरेक दिन हाडजोर्नी विशेषज्ञ सेवा, प्रसूति तथा महिला रोग विशेषज्ञ सेवा, विशेषज्ञ बालरोग सेवा, जनरल तथा ल्याप्रेस्कोपिक सर्जन विशेषज्ञ सेवा सञ्चालनमा रहेको छ । यसैगरी, विशेषज्ञ मानसिक तथा स्नायु रोग सेवा, पेट, छाती तथा मुटुरोग विशेषज्ञ सेवा, एनेस्थेशियोलोजिष्ट एवं क्रिटिकल केयर सेवा, विशेषज्ञ मुटुरोग सेवा प्रदान भइरहेको बताइएको छ ।