धनगढी, ११ चैत । नयाँ वर्षको अवसरमा धनगढीमा हाप म्याराथन हुने भएको छ ।
धनगढी जेसिसके आयोजनामा अगामी बैशाख १ गते नयाँ वर्षको दिन ‘अब धनगढी दौडिन्छ’ भन्ने मूल नारा सहित हाफ म्याराथन प्रतियोगिता हुने भएको हो । प्रतियोगिताका लागि धनगढी जेसिस जुटि सकेको छ । धनगढीमा पत्रकार सम्मेल मार्फत प्रतियोगिताको तयारी बारे धनगढी जेसिजले जनाएको छ । बैशाख १ गते हुन लागेको ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन प्रतियोगिता ११ औं संस्करण हो । धनगढी जेसिजल सन् २०१४ बाट यो प्रतियोगिता नियमित रुपमा नयाँ वर्षको दिन आयोजना गर्दै आइरहेको छ ।
प्रतियोगिता १० औं संस्करणदेखि नेपाल एथलेटिक्स संघबाट स्वीकृत प्राप्त गरिसकेको आयोजकले जनाएको छ । हाफ म्याराथनको विजेताले नगद ७५ हजार, उप–विजेताले ५० हजार र तेश्रो हुनेले नगद २५ हजार प्राप्त गर्नेछन् । हाफ म्याराथन धनगढी रंगशालादेखि सुरु भएर गेटास्थित मनेहरा पुल हुँदै पुनः धनगढी रंगशाला पुगेर समापन हुने संयोजक दिपक गौतमले बताए ।
यस्तै, प्रतियोगिता अन्तर्गत महिलातर्फ तथा कर्पोरेट र संचारको ५ कि.मी. दौड आयोजना गरिनेछ । संयोजक गौतमका अनुसार विजेताले ७ हजार पाँचसय रुपैयाँ प्राप्त गर्नेछन् भने उप–विजेताले पाँच हजार र तेस्रो हुनेले दुईहजार पाँचसय रुपैयाँ प्राप्त गर्नेछन् । खुल्लातर्फको दूरी २१.१ किलोमिटर रहने जनाइएको छ ।
खुल्लातर्फको प्रतिस्पर्धीहरुले धनगढी रङ्शालाबाट दौडेर धनगढी बजार हुँदै गेटा पुगेर पुनः रङगशालामा आउने जनाइएको छ । खेलकुदको माध्यमबाट युवालाई विकासमा प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुदै आएको प्रतियोगितामा धावक नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतको सहभागिता हुने आयोजकले जनाएको छ ।
नयाँ वर्ष २०८१ का अवसरमा आयोजित हाफ म्याराथन प्रतियोगितामा मुकेशबहादुर पाल प्रथम भएका थिए । उनले २१ किलोमिटर दूरीको हाफ म्याराथन एक घण्टा सात मिनेट ५७ दशमलव ३५ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान प्राप्त गरेका थिए ।