धनगढी । बर्दियाको ठाकुरबाबा नगरपालिकाको न्यायिक समितिको टोलीले कैलालीस्थित कैलारी गाउँपालिकाको अवलोकन/भ्रमण गरेको छ ।
कार्य सम्पादन मूल्यांकनमा कैलारी गाउँपालिका नेपालकै उत्कष्ट पाँच पालिकाभित्र परेपछि कैलारीले गर्दै आएको कामकाबारेमा जानकारी लिने उद्देश्यले सो टोलीले कैलारी गाउँपालिकाको भ्रमण गरेको हो । भ्रमण टोलीलाई गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी, उपाध्यक्ष लक्ष्मी सत्गौंवा र कर्मचारीले स्वागत गरेका थिए । न्यायिक समितिको टोलीले कैलारी गाउँपालिकाको न्यायिक समितिले गर्दै आएको राम्रो काम, अभ्यासका साथै विविध विषयमा जानकारी लिएको गाउँपालिकाका प्रवक्ता कमलप्रसाद चौधरीले बताए ।
समितिले कैलारीको गाउँ सभा कक्ष, न्यायिक समितिको कक्षसमेत अवलोकन गरेको छ । यसैगरी, कैलारी गाउँपालिका र ठाकुरबाबा नगरपालिकाको न्यायिक समितिको टोलीबीच छलफल पनि भएको छ । छलफलको क्रममा कैलारी गाउँपालिकाका उपाध्यक्ष एवम् न्यायिक समितिका संयोजक लक्ष्मी सत्गौंवाले न्यायिक समितिको कार्य सम्पादन प्रगति राम्रो रहेको बताइन् । उनले दर्ता भएको करिब छ सय मुद्दामध्ये पाँच सय मुद्दामा समितिले मेलमिलाप गराइसकेको जानकारी दिइन् ।
न्यायिक समितिको कामप्रति जनताबाट गुनासा नसुनिएको र मेलमिलाप गरिएका मुद्दा अहिलेसम्म न्यायिक समितिमा पुनः फर्केर नआएको सत्गौंवाको भनाइ थियो । उनले जनप्रतिनिधि र कर्मचारीबीच राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै जनताबाट आएका गुनासालाई सबैले मिलेर सम्बोधन गर्ने गरेको बताइन् ।
छलफलको क्रममा मेलमिलाप समितिका सदस्य विष्णुप्रसाद चौधरीले कैलारी गाउँपालिकाको न्यायिक समितिले गरेका कामकाबारेमा जानकारी गराएका थिए । यस्तै, ठाकुरबाबाको न्यायिक समितिले पनि आफूले गरेको राम्रो काम र अभ्यासको बारेमा कैलारी गाउँपालिकालाई जानकारी गराएको छ ।
छलफलमा कैलारी गाउँपालिकाका जनप्रतिनिधि, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐरसहित कर्मचारी, ठाकुरबाबा नगरपालिकाको न्यायिक समितिका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।