२० मंसिर २०८१, बिहीबार December 5, 2024

चैत १० गतेदेखि सुदूरपश्चिम महोत्सव हुने

१ चैत्र २०७८, मंगलवार
चैत १० गतेदेखि सुदूरपश्चिम महोत्सव हुने

धनगढी । धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना गरिने भएको छ ।
मंगलबार धनगढीमा पत्रकार सम्मेलन माार्फत महोत्सव बारे जानकारी दिइएको हो । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले यहि चैत्र १० गतेदेखि २० गतेसम्म सुदूरपश्चिम महोत्सव २०७८ आयोजना हुने बताए ।
कोरोना महामारीका कारण विगत २ वर्ष देखि सञ्चालन हुन नसकेको महोत्सव यस वर्ष भने दोस्रो पटक सञ्चालनका लागि तयारी थालिएको छ । यसअघि माघ १८ गते देखि सञ्चालन गर्न घोषणा गरिएको महोत्सव कोरोना महामारीका कारण स्थगित गरिएको थियो ।
कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा हुन लागेको महोत्सवले सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि र उद्योग व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवर्द्धन गर्दै यस क्षेत्रको समग्र विकासका सम्भावनाहरूलाई उजागर गर्ने तथा कोरोना महामारीका कारण सृजित आर्थिक, सामाजिक प्रतिकुलता र विषम सामाजिक परिस्थिति बाट गुजिरहेको उद्योग व्यवसायलाई आसावादी बनाई पुर्नस्थापित गर्न महोत्सव उपलब्धिमूलक हुने आयोजकले दावी गरेको छ ।
२०६३ सालदेखि धनगढीमा आयोजना भइरहेको महोत्सवको १५ औँ संस्करण यस बर्ष धनगढी उपमहानगरपालिका–१ चौधरी बुक डिपो अगाडी पशुपतीटोलमा आयोजना गर्न लागेको आज पत्रकार सम्मेलनको आयोजना गरी सो बारे आयोजकले जानकारी दिएको हो ।
महोत्सवमा वृहत् व्यवसायीक कृषि प्रदर्शनी तथा प्रतियोगिता ताजा तरकारी र कृषिमा आएको प्रविधि सँगै माछा, केरा, पोल्ट्री, दुग्धजन्य पदार्थ, च्याउ आदी व्यवसायलाई प्रदर्शनीमा विशेष जोड दिने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।
यस्तै सांस्कृतिक रूपमा धनी सुदूरपश्चिमको कला संस्कृतिको संरक्षण सँगै विगतका दिनमा महोत्सवले उत्पादन गरेका कलाकारहरू आज जसरी देश विदेशमा ख्याती कमाएका छन् सोही कार्यलाई निरन्तरता दिँदै यस क्षेत्रका कला संस्कृतिमा सम्भावना भएका र योगदान दिएका कलाकारहरूलाई स्टेजमा प्राथमिकता दिइने जनाएको छ ।
महोत्सवमा १ करोड बढीको लगानीमा उत्कृष्ट रूपमा सम्पन्न गरिने आयोजकले जनाएको छ । यस वर्ष महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गार्मेन्ट, इलेक्ट्रोनिकल, होटेल र सूचना प्रविधि गरि तीन सय भन्दा बढीको सङ्ख्याको स्टलहरूको सहभागिता रहने अध्यक्ष कुँवरले बताए ।
महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरेको गरिने छ भने यस वर्षको महोत्सवमा करिब ४ लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवलाई भब्यरुपमा सम्पन्न गर्न मूल समिति सहित २३ उप समिति समेत गठन गरेको छ ।
महोत्सवको मुख्य प्रयोजक विभिन्न विधाका प्रायोजक बनी सहयोग गरिदिन हुन सङ्घ, प्रदेश, स्थानीय सरकार सरकारी तथा गैरसरकारी संस्था, व्यावसायिक कम्पनी बैक तथा वित्तीय संस्था उद्योगी व्यवसायी सम्पूर्णमा आयोजकले अनुरोध गरेको छ । महोत्सव बिहान ११ बजेदेखि राती ८ बजेसम्म सञ्चालन हुनेछ ।