२२ भाद्र २०८१, शनिबार September 7, 2024

हात्तीपाइले रोगविरुद्धको औषधि कैलारीमा ८० प्रतिशतभन्दा बढीलाई खुवाउने लक्ष्य

२८ फाल्गुन २०७८, शनिबार
हात्तीपाइले रोगविरुद्धको औषधि कैलारीमा ८० प्रतिशतभन्दा बढीलाई खुवाउने लक्ष्य

धनगढी, २८ फागुन । कार्य सम्पादनमा नेपालकै उत्कृष्ट पाँच पालिकामा रहन सफल कैलालीको कैलारी गाउँपालिकामा हात्तीपाइले रोगविरुद्धको औषधि ८० देखि ९० प्रतिशत जनसङ्ख्यालाई खुवाउने लक्ष्य राखिएको छ ।
सोही अनुसार शनिबारदेखि गाउँपालिकामा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु भएको छ । करिब ५० वटा बुथबाट हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने कार्य भइरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले जानकारी दिए ।
उनका अनुसार एक बुथमा एक जना स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम् सेविकाले हात्तीपाइले रोगविरुद्धको आम औषधि खुवाइ रहेका छन् । हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानमा गाउँपालिकावासीले उत्साहजनक रुपमा सहभागिता जनाइ रहेको सापकोटाले बताए । ‘छुटेकालाई आइतबारदेखि घरभेट कार्यक्रम गरेर औषधि खुवाउछौं’, उनले भने । ‘आजदेखि १५ दिनसम्म अभियान जारी रहन्छ ।’
कैलारी गाउँपालिकामा जम्मा ५५ हजार ४३३ जनसङ्ख्या रहेको छ । जसमध्येबाट हात्तीपाइले रोगविरुद्धको औषधि खान योग्य भएका ८० देखि ९० प्रतिशतलाई औषधि खुवाउने लक्ष्य रहेको सापकोटाले बताए । ‘गर्भवती, दुई वर्षमुनिका बालबालिका, सिकिस्त बिरामी र सात दिनभित्रका सुत्केरीबाहेक प्रायः सबैलाई औषधि खुवाउने लक्ष्य छ’, उनले भने ।
कैलाली यस वर्ष १० औं पटक हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान चलिरहेको छ । कैलालीमा यसवर्ष हात्तीपाइले रोगविरुद्धको तीन प्रकारका औषधि खुवाइदैछ । यो वर्ष आइभरमेक्टिन नामक औषधि थप गरिएको छ । गतवर्षसम्म डीइसी र अल्बेन्डाजोल गरेर दुई प्रकारका औषधिमात्रै खुवाइएको थियो ।