धनगढी, २४ फागुन । कैलालीको कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी महिलालाई आर्थिक सशक्तिकरण आवश्यक रहेको बताएका छन् ।
मंगलबार हसुलियामा भएको ११२ अन्तराष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले महिलालाई आर्थिक रुपमा सशक्तिकरण गर्न आश्वक रहेको बताएका हुन् ।
अध्यक्ष चौधरीले शिक्षा तथा आर्थिक रुपमा कमजोर भएकै कारणले पनि महिलाहरु घरेलु हिंसा लगायत विभिन्न समस्याबाट पीडित हुनु पर्ने बाध्यता रहेको बताए । उनले भने,–‘महिलाहरु अझै पनि शिक्षा तथा आर्थिक रुपमा कमजोर रहेका छन् । जसले गर्दा उनीहरु घरेलु हिंसा लगायत विभिन्न समस्याबाट पीडित हुनु पर्ने बाध्यता रहेको छ ।’
अध्यक्ष चौधरीले महिलाहरु आर्थिक रुपमा शसक्त नभएसम्म यस किसिमका समस्या सधैँ झेल्नु पर्ने पनि बताए । ‘जब सम्म महिलाहरु आर्थिक रुपमा ससक्त हुदैनन् तब सम्म उनीहरु महिला हिंसा, घरेलु हिंसाबाट पीडित नै हुन्छन्’, उनले भने ।
महिलालाई आर्थिक रुपमा आत्मनिर्भर र सचेत बनाउन गाउँपालिकाले सीपमूलक तथा क्षमता विकासका तालिम र विभिन्न किसिमका सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै उनले तालिम लिएर अहिले सयौँ महिला आर्थिक रुपमा आत्मनिर्भर पनि भएको बताए ।
कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष कैलाश चौधरी, पारदर्शी महिला वहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष गीता चौधरी, ओरेक नेपालकी जयकला चौधरी लगायत शुभकामना मनतब्य राखेका थिए ।
त्यही अवसरमा महिला सशक्तिकरणको क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने संघ संस्था तथा व्यक्तित्वलाई सम्मान गरिएको छ ।
महिला सशक्तिकरणको क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने सहकारी तर्फ समीक्षा महिला वहुउद्देश्यीय सहकारी संस्था, पारदर्शी महिला वहुउद्देश्यीय सहकारी, र चेतनशील महिला वहुउद्देश्यीय सहकारी संस्था रहेका छन् ।
मेसन डकर्मी तर्फ लीला चौधरी, अटोचालक रामपति चौधरी, सिलाई कटाई तर्फ चम्पा बोहरा, बेतबास तर्फ शान्ती चौधरीलाई सम्मान गरिएको छ ।
कार्यक्रम गाउँपालिका उपाध्यक्ष लक्ष्मी सत्गौंवाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा स्वागत मनतब्य महिला तथा बालबालिका शाखा प्रमुख बालकुमारी चौधरीले राखेकी थिइन् । कार्यक्रमको सञ्चालन समाजिक विकास अधिकृत यगम कलेलले गरेका थिए ।
कार्यक्रममा कार्यपालिका सदस्य रञ्जीता चौधरी, खडक सिंह कामी, चेतनशील वहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष हिरा चौधरी लगायतका अतिथी रहेका थिए ।
कार्यक्रममा जनचेनतामूलक नाटक र सांस्कृतिक कार्यक्रम पनि भएको थियो । कैलारी गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा भएको कार्यक्रमलाई पारदर्शी महिला वहुउेद्दश्यी सहकारी संस्था, सामाजिक सेवा अध्ययन केन्द्र, मुक्त कमैया महिला विकास मञ्च, महिला पुनस्थापना केन्द्र, फाया नेपाल सुहारा कार्यक्रम, दलित महिला अधिकार मञ्च, बाल कल्याण संघ टीकापुर र कालिका कृषि सहकारी संस्था लगायत संघ संस्थाले सहकार्य गरेका थिए ।