२२ भाद्र २०८१, शनिबार September 7, 2024

आम औषधि सेवन अभियान सफल पार्न तयारीमा जुट्यो कैलारी

२१ फाल्गुन २०७८, शनिबार
आम औषधि सेवन अभियान सफल पार्न तयारीमा जुट्यो कैलारी

धनगढी। हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियान सफल पार्नका लागि कैलारी गाउँपालिका तयारीमा जुटेको छ ।
फागुन २८ गतेदेखि सञ्चालन हुन गइरहेको अभियान पूर्व गाउँपालिका तयारीमा जुटेको हो । यसैक्रममा, गाउँपालिका स्तरीय योजना तर्जुमा बहुनिकाय गोष्ठी गरिएको छ । गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी, उपाध्यक्ष लक्ष्मी सत्गौंवा, सबै वडा अध्यक्षहरु, विषयगत शाखाका प्रमुखहरु, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको उपस्थितिमा गोष्ठी गरिएको हो ।
गाउँपालिकामा दुई वर्षमुनिका बालबालिका, सात दिनसम्मको सुत्केरी, गर्भवती र सिकिस्त बिरामीबाहेक सबैलाई हात्तीपाइले रोगविरुद्धको आम औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले जनाए । सो गाउँपालिकाको जनसङ्ख्या ५५ हजार ४३३ रहेको छ ।


हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सफल पार्नका लागि नौ वटै वडाको समुदायस्तरमा पाँच÷पाँच वटा अन्तरक्रियासमेत गरिने स्वास्थ्य शाखा प्रमुख सापकोटाले बताए । ‘स्वास्थ्य संस्थाहरुमार्फत समुदायस्तरमा ४५ वटा अन्तरक्रिया हुन्छ’, उनले भने ।
कैलारी गाउँपालिकामा वडा अध्यक्ष र वडा सदस्यहरुलाई हात्तीपाइले रोगविरुद्धको आम औषधि खुवाएर अभियानको सुरुवात गर्ने तयारी गरिएको छ । जनप्रतिनिधिले खाइसकेपछि समुदायस्तरका व्यक्तिलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने स्वास्थ्य शाखाले जनाएको छ ।
नौ पटकसम्म अभियान सञ्चालन गर्दा पनि लक्ष्य अनुसार मान्छेले औषधि नखाएका कारण कैलालीबाट हात्तीपाइले निवारण हुन सकेको छैन । नौ पटकसम्मको अभियान असफल भएपछि यसवर्ष दशौं पटक अभियान सञ्चालन गर्न लागिएको हो । यसवर्ष एउटा औषधि पनि थपिएको छ ।
गतवर्षसम्म डीइसी र अल्बेन्डाजोल गरेर दुई प्रकारका औषधिमात्रै खुवाइएको थियो । यो वर्ष मान्छेको उचाइ अनुसार खुवाइने ‘आइभरमेक्टिन’ नामक औषधि थपिएको छ ।