२० मंसिर २०८१, बिहीबार December 5, 2024

काङ्ग्रेस कैलाली अधिवेशन : सभापतिका उम्मेदवार बमलाई कलेल पक्षको समर्थन

१८ फाल्गुन २०७८, बुधबार
काङ्ग्रेस कैलाली अधिवेशन : सभापतिका उम्मेदवार बमलाई कलेल पक्षको समर्थन

धनगढी । नेपाली कांग्रेस कैलालीको नयाँ सभापति चयनका बिहीबार मतदान हुँदैछ । पहिलो चरणमा भएको निर्वाचनबाट कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नल्याएपछि दोस्रो चरणमा मतदान हुन लागेको हो । पहिलो चरणमा आइतबार भएको निर्वाचनमा प्रकाश बम, नारायणदत्त भट्ट र रामबहादुर कलेल प्रतिस्पर्धामा उत्रिएका थिए ।
सोमबार सकिएको मतगणना अनुसार बमले एक हजार १६९, भट्टले एक हजार ७२ र कलेलले १९७ मत प्राप्त गरेका थिए । तर, कसैको पनि ५० प्रतिशत मत नआएकाले दोस्रो चरणमा बिहीबार मतदान हुन लागेको हो । काङ्ग्रेसको विधान अनुसार सभापतिमा जित्नका लागि एक हजार २४३ अर्थात ५० प्रतिशतभन्दा बढी मत अनिवार्य रुपमा ल्याउनु पर्ने रहेको छ । तर, तीनै जना उम्मेदवारको पक्षमा विधान अनुसार मत नपरेपछि सभापति चयनका लागि दोस्रो चरणको निर्वाचन हुने भएको हो । अब बम र भट्टबीच प्रतिस्पर्धा हुनेछ । काङ्ग्रेस सभापति चयनका लागि दोस्रो चरणमा प्रतिस्पर्धा गर्न योग्य भएका बम र भट्ट दुवै जना संस्थापन पक्षका हुन ।
संस्थापन इतर पक्षबाट सभापतिमा उम्मेदवारी दिएका रामबहादुर कलेल भने पहिलो चरणबाट बाहिरिएका छन् । अब कलेलले प्रकाश बमलाई समर्थन गर्ने घोषण गरेका छन् । बुधवार धनगढीमा पत्रकार सम्मेलन गर्दै कलेल समुहले आफ्ना मतदातालाइ अब सभापतिका उम्मेदवार बमलाई मत दिन आग्रह गरेका छन् ।
सभापति होडबाट बाहिरिएको संस्थापन इतरपक्ष नै अब काङ्ग्रेस कैलालीको सभापति जिताउनमा निर्णायक देखिएको छ । सो पक्षका उम्मेदवार कलेलले प्राप्त गरेको १९७ मत एकमुष्ट रुपमा बमको पक्षमा गएपछि बमलाई जितको लागि काफी हुने देखिएको छ ।