१५ बैशाख २०८३, मंगलवार April 28, 2026

मास्टर्समा थारूको कला–संस्कृतिबारे पाठ्यक्रम बनाउन छलफल

११ फाल्गुन २०८१, आईतवार
मास्टर्समा थारूको कला–संस्कृतिबारे पाठ्यक्रम बनाउन छलफल

काडमाडौं, ११ फागुन । काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन विभागले तराईका आदिवासी थारूको विषयमा २ वर्षे स्नातकोत्तर पढाउनेबारे छलफल गरेको छ ।
शनिबार थारू कल्याणकारिणी सभा, केन्द्रीय समितिको अगुवाइमा थारू संघ÷संस्था, बुद्धिजीवी, अगुवा र सरोकारवालाहरूसँग एजुकेशन विभागले छलफल गरेको हो ।
कार्यक्रममा थारूको सभ्यता, इतिहास, भाषा, संस्कृति, कला, साहित्य, खाना, चाडपर्व र व्यवहारको बारेमा स्नातकोत्तर तहको कोर्षमा समावेश हुनुपर्नेमा सरोकारवालाहरूले सुझाव दिएका छन् ।
थारू आयोगका माननीय सदस्य डा. उमाशंकर चौधरीले काठमाडौं विश्वविद्यालयले थारूलगायतका आदिवासीहरूको ज्ञान, सीप र दक्षतालाई व्यवहारिक तथा आर्थिक तवरले सोचेर शिक्षा दिनुपर्ने बताए । साथै आदिवासीहरूको बारेमा संयुक्त राष्ट्र संघको वडापत्रबारे मास्टर्सका विद्यार्थीहरूलाई जानकारी दिने गरी कोर्ष डिजाइन गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘हामीले आदिवासी थारूको बारेमा स्नातकोत्तरमा अध्ययन गराउँदा कोर्षहरूमा व्यवहारिक ज्ञान, सीप र व्यवहाका साथै केही परिमार्जन गर्नुपर्छ । जस्तै मास्टर्सका विद्यार्थीले यूएनको वडापत्र घोषणाबारे, आइएलो १६९, प्रावधान गायता आदिवासीको अधिकारहरूको बारेमा जानकारी दिनेगरी कोर्ष डिजाइन गर्नुपर्छ ।’
यस्तै प्राध्यापक महेश चौधरीले थारूहरूको भाषा, संस्कृतिमा विविधता भएकाले विश्व परिवेशलाई जोड्न सक्ने गरी कोर्ष बनाउनुपर्ने बताए । उनले भने, ‘थारूको भाषा, संस्कृतिमा विविधता भएकाले विश्व परिवेशलाई जोड्न सक्नुपर्छ । थारू सीप र खानालाई कोर्षमा प्राक्टिकल रुपमा राख्नु जरूरी छ । थारू प्रकृति पुजक भएकाले उसको जन्म, विवाह र मृत्यु संस्कारको बारेमा चेतना दिने गरी कोर्ष बनाउँदा उपर्युक्त हुन्छ।’

त्यसैगरी नेपाल समाजवादी विद्यार्थी संगठनका वरिष्ठ उपाध्यक्ष ओम महतोले थारूलाई ग्रासरूटसँग जोड्ने गरी केयूले कोर्ष बनाउनु पर्ने सुझाव दिए । उनले भने, ‘ केयूले थारूलाई ग्रासरूटसँग जोड्ने गरी पाठ्यक्रम बनाउनु जरूरी छ, जसको कारण थारूले मौका पाओस । अहिले कागजमा डिग्री गर्ने चलन छ। तर सीप र ज्ञान भने छैन। त्यसकारण सीप र ज्ञान अर्थसँग जोड्ने गरी पाठ्यक्रम बनाउनुहोला।’ साथै जलवायु परिवर्तनको मारमा खासगरी चितवन र नवलपु र बर्दियालगायतका सीमावर्ती क्षेत्रका थारूहरू मारमा परेकाले उनीहरूको समसयालाई पनि पाठ्यक्रममा समेट्नुपर्ने उनको भनाइ थियो ।
यस्तै अधिवक्ता मधुसुदन चौधरीले थारू प्रकृति पुजक भएकाले उसको ग्रामथान, इतिहासर सभ्यताको बारेमा कोर्षमा राख्नुपर्ने बताए । उनले भने, ‘तराइमा जतिबेला थारू एक्लै थिए, उनीहरूसँग प्रशस्त जमिन थियो । तर, जब पहाडबाट मान्छेहरू आए, भारतबाट भारतीयहरूको अन्तरप्रवाह भयो। त्यसपछि थारूको पारिस्थितिक प्रणाली बिग्रेर गयो। उनीहरूको जीवन नै तहसनह भयो। जथाभावी जमिन हडप्ने काम भयो। उद्योगधन्दा खोलियो र थारूलाई कमैया बनाइयो। त्यसकारण थारूको सभ्यता र संस्कृतिमाथि आक्रमणको अध्ययन गराउनु जरूरी छ पाठ्यक्रम बनाएर।’
यस्तै समाजशास्त्री तथा अनुसन्धानकर्ता पुरूषोतम चौधरीले थारूहरूको वैद्य प्रथा, आर्ट तथा कलालाई प्रवद्र्धन गर्नुपर्ने बताए । ‘थारूहरू मलेरिया, औलो पचाएर आएका आदिासी हुन् । उनीहरूको प्राचीन सभ्यता, प्रथा र प्रयोगलाई प्राथमिकताका साथ पाठ्यक्रममा समेट्नु जरूरी छ।’ उनले भने ।
यस्तै थारू संस्कृतिका अभियन्ता शत्रुघ्नप्रसाद चौधरीले थारूको विधि व्यवहार, महिना अनुसारको चाडबाड र आफ्नै मौलिक पर्व भएकाले यसबारेमा विसतृतमा पाठ्यक्रममा समेटिदा सुनमा सुगन्ध हुने बताए । उनले भने, ‘हाम्रो थारू समुदायमा जन्मखि मृत्युसम्म विधि व्यवहार, चाडबाड, परम्परा र प्रथा छ। जस्तै अष्टिम्की, गुरहरी, डसिया, लवाङगी पूजा,हरेरी, अट्वारीलगायतका पर्वहरू प्रकृतिसँग सम्बन्धित छन्। लोकगीतरू जीवन र जगतसँग जोडिएका छन् ।’

यस्तै थिएटर कलाकार तथा युवा अभियन्ता प्रणव आकाशले थारू जीवनको यथार्थमा रहेर कला र सीपलाई पहिचान गर्नेगरी पाठ्यक्रम बनाउँदा विद्यार्थीलाई अध्ययन गर्न सजिलो हुने बताए । ‘ अब हुने पाठ्यक्रममा थारू सीप, संस्कारमा आधारित र व्यवहारिक स्वास्थ्य प्रणाली, स्थानीय सीप, कृषि, जेनेटिक्स हेरिडीटी, सामाजिक मूल्य र मान्यता, स्टिम शिक्षा लगायतलाई समेट्नुपर्नेमा जोड दिए ।
थारू कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष प्रेमिलाल चौधरीले थारूहरूको हक अधिकार राज्यले पटक पटक खोसेकाले थारूको हित हुनेगरी पाठ्यक्रम बनाउन सुझाव दिए । उनले यसका लागि थाकस सधै साथ र सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रममा उठेका सुझावलाई समेट्ने गरी २ वर्षे स्नातकोत्तरको पाठ्यक्रम बनाउन तयार रहेको काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनका डीन डा. सुवास गौतमले बताए। उनले भने, ‘ हामी थारूको सभ्यता, इतिहास, कला, सीप र व्यवहारलाई नमासिनेगरी विषयवस्तुलाई मध्यजनर गरी कोर्ष डिजाइन गर्न तयार छौं।यसका लागि तपाईहरूको साथ र सहयोग अनिवार्य चाहिन्छ ।’ उनले विश्वमा आदिवासी ज्ञान र सीपलाई उजागर गर्ने गरी आफूहरू लागि परेको बताउँदै आदिवासी सीपलाई अब जर्नल, पुस्तकहरूमा निकालेर पश्चिमाहरूलाई पस्किन सक्ने गरी योजना बनाइहेको बताए ।
अनलाइनखबरबाट