भजनी । कैलालीको भजनी नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका साथ भजनी नगरपालिका स्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिताको सोमबार उद्घाटन गरिएको छ । भजनी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको हो । शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सुर्य बहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा भजनी नगरपालिका नगर प्रमुख केवल चौधरी प्रमुख अतिथि रहेका थिए ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडी छनौटका लागि उक्त खेलको आयोजना गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सुर्य बहादुर सिंहले बताए ।
खेलकुद कार्यक्रममा भजनी नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय गरी ५४ वटा विद्यालयको सहभागिता रहेको छ । सोमबार पुस २३ गते देखि सुरु भएको खेलकुद कार्यक्रम पुस २७ गतेसम्म संचालन हुने जनाइएको छ ।