१० चैत्र २०८१, सोमबार March 24, 2025

सुदूरपश्चिमका उच्च हिमाली क्षेत्रमा हिमपात

११ माघ २०७९, बुधबार
सुदूरपश्चिमका उच्च हिमाली क्षेत्रमा हिमपात

धनगढी । सुदूरपश्चिमका उच्च हिमाली क्षेत्रमा मङ्गलबार हिमपात भएको छ । सुदूरपश्चिममा बाजुरा, दार्चला, बझाङ, बैतडी र डडेल्धुरालगायतका क्षेत्रमा हिउँदमा हिमपात हुने गरेको छ । सुदूरपश्चिमका तराईका दुई मात्र जिल्ला कैलाली र कञ्चनपुरमा समेत बिहानदेखि वर्षा भइरहेको छ ।
यस पटक डडेल्धुराबाहेकका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । बाजुरा, बझाङ, अछाम र डोटीमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्जमा पनि हिमपात पर्न सुरु भएको खप्तड राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गोपाल घिमिरेले जानकारी दिए ।
उनका अनुसार खप्तडमा मङ्सिरको अन्तिम सातादेखि हिमपात हुने गरेको भए पनि यस पटक माघमा आएर हिउँ पर्न थालेको छ । उनले भने, “यो पटक पहिलाजस्तो बाक्लो हिउँ पनि परेको छैन फाटफुट रूपमा परिरहेको छ । बिहानदेखि अहिलेसम्म डेढ फिट मात्र हिउँ परेको छ ।”
बाजुरामा सोमबार रातिदेखि वर्षासँगै हिमपात सुरु भएको छ । बूढीनन्दा, हिमाली, जगनाथ, स्वामिकार्तिकलगायतका स्थानीय तहमा सोमबार राति परेको वर्षासँगै हिमपात भएको हो ।
हिमपातका कारण चिसो बढ्न थालेको छ । बाजुराका बडीमालिका, त्रिवेणी, खप्तड छेडेदह गाउँपालिकाका अग्ला स्थानमा पनि हिमपात भएको छ । बडिमालिका र बूढीनन्दा नगरपालिकाको बीचमा रहेको पोरखे लेखमा बाक्लो हिमपात भएको छ ।
हिमपात भएपछि किसान खुसी
बाजुरामा विभिन्न ठाउँमा हिमपात सुरु भएपछि किसान भने निकै हर्षित छन् । हिउँदमा लगाएको गहँुबाली सुक्नै लागेको समयमा वर्षासँगै हिमपात भएपछि तरकारी तथा गहुँबालीका लागि सिँचाइमा ठूलो राहत मिलेको भन्दै किसान हर्षित बनेका छन् । बूढीनन्दा नगरपालिका–७ का धनवीरे रोकायाले, हिउँदे खेती गहुँ तथा तरकारी सिँचाइ नभएर सुक्नै लागेको समयमा पानीसँगै हिमपात भएपछि गहुँखेतीलाई निकै राहत पुगेको बताए ।
उनले भने, “कात्तिकमा लगाएको गहुँ खेती पानी नपरेर सुक्न लागेको थियो । अहिले पानीसँगै हिमपात भएपछि अब भने हिउँदमा मेहनत गरेको खेर नजाने आस लागेको छ ।” बाजुराका अधिकांश क्षेत्रमा आकाशको पानीको भरमा खेती गर्ने गर्छन् ।
मध्यपहाडी जिल्ला डडेल्धुरामा तीन महिनापछि मात्रै हिउँदे वर्षा भएको छ । वर्षा हुँदा कात्तिक महिनामै हिउँ पर्ने महाभारत पर्वत क्षेत्रलगायत यहाँका अग्ला पहाड जङ्गल क्षेत्रमा यस वर्ष अहिले माघमा आएर मात्रै हिमपात भएको छ । गत वर्ष भने छ पटकसम्म डडेल्धुराका विभिन्न क्षेत्रमा हिमपात भएको थियो ।
यस वर्ष भने गत कात्तिक १ गते छिटपुट वर्ष भएको थियो । त्यस यता भने वर्षा नै भएको थिएन । तीन महिना बढी समयसम्म वर्षा नहुँदा हिउँदे खेतीपातीमा असर पुगेको थियो । ढिलै भए पनि वर्षा हुँदा हिउँदे बाली सप्रिने भन्दै किसान हर्षित भएका छन् ।
जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय डडेल्धुरा प्रमुख श्याम सुनारका अनुसार डडेल्धुरामा मङ्गलबार बिहान ८ः४५ को रेकर्डअनुसार ५.४ मिलिमिटर वर्षा भएको छ । महाभारत पर्वत क्षेत्र तेले लेक, सुग्गाघाणा, अनारखोली क्षेत्रमा हल्का हिमपातसमेत भएको छ । मङ्गलबारको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस रहेको छ । वर्षा नहुँदा हिउँदमा लगाइने फलफूलका बिरुवासमेत किसानले रोप्न सकेका थिएनन् ।
ढिला गरेर वर्षा भएपछि अब किसानले ओखर, किभीलगायतका फलफूल लगाउने तयारी थालेको किसान धनबहादुर भाटले बताए । वर्षा र हिउँ परे माघ, फागुन महिनामा बर्खे फलफूलका बोट बिरुवा समेत किसानले रोप्ने गरेको उनको भनाइ छ । सुन्तला, कागती, मौसमीलगायतका फलफूलका बोटबिरुवा समेत माघ, फागुन महिनामा किसानले रोप्ने गरेको उनले बताए ।
लामो समय वर्षा नहँुदा पानीका मुहानहरूमा पानी घट्दै गएको थियो । हिउँदे वर्षा नभए एवं हिमपात नभए डडेल्धुरामा चैत महिनादेखि खानेपानीको समेत अभाव हुने गरेको छ । हिउँदमा वर्षा र हिमपात भए पानीका मुहान नसुक्ने र पानीको अभाव हुँदैन । चैत, वैशाख महिनामा लाग्ने डढेलोसमेत कम लाग्ने जिल्ला प्राकृतिक विपत् व्यवस्थापन संयोजक एवं प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।
हिउँदे वर्षा सुरु भएसँगै अछामका अन्न, दाल र तरकारी बालीका किसानहरू खुसीसँगै उत्साहित भएका छन् । दुःख गरेर लाएको गहुँ, जौ, तरकारी र मसुरोलगायतका बाली सुक्न लागेको अवस्थामा पानी पर्न थालेपछि कृषकमा खुसियाली छाएको हो । निकै श्रम गरेर लाएको खेतीपाती पानी परेसँगै फस्टाउने आकलन कृषकको छ । मङ्गलसेन नगरपालिका–६, तेसिङ्गेका देवीराम भण्डारीले भने, “गहुँ सुक्न लाग्यो अब बीउ पनि आउँदैन होला भन्ने चिन्ता लागेको थियो, पानी प–यो अब केही आस लागेको छ ।”
तुर्माखाँद गाउँपालिका–८ का वडाध्यक्ष निरकबहादुर शाहीका अनुसार धेरै दिनको मेहनत र दुःख गरेर लाएको खेती सुक्ने अवस्थामा पानी पर्न थालेपछि कृषक हर्षित भएका छन् । सिँचाइको अभाव झेलिरहेका यहाँका कृषक आकाशेपानीले बालीनाली सिञ्चित हुने भएपछि राम्रो फल लाग्ने आस गरेका छन् । पानी अभावमा सुक्खा भएको माटो आकाशेपानीले भिज्ने र बालीलाई राम्रो हुने अपेक्षा कृषक रुद्र विकको भनाइ छ ।
सोमबार रातिबाट पानीसँगै अछामका उच्च लेकाली भेगमा हिमपात जनजीवन प्रभावित भएको छ । अछामको खप्तड, रामारोशन, मेल्लेखलगायतका उच्च स्थानमा हिमपात हुन थालेको हो । यहाँका अग्ला स्थानमा हिउँ परिरहेको छ रामारोशनका गङ्गा कुँवरले जानकारी दिए ।
पानी र हिमपातसँगै चिसो अत्यधिक बढेकाले मानिस र पशुपन्छीलाई बाहिर निस्कन समस्या भएको छ ।
गोरखापत्रबाट