१४ बैशाख २०८१, शुक्रबार April 26, 2024

बाह्रखरी कथा प्रतियोगिता–२०७७ : मुना चौधरीको ‘लार’ कथा प्रथम

२५ श्रावण २०७८, सोमबार
बाह्रखरी कथा प्रतियोगिता–२०७७ : मुना चौधरीको ‘लार’ कथा प्रथम

काठमाडौं, ९ असार । बाह्रखरी बुक्सको राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता–२०७७ मा मुना चौधरीको कथा ‘लार’ प्रथम भएको छ ।
कथामा प्रथम भएकी लहान सिराहाकी कथाकार चौधरीले एक लाख नगद पुरस्कार, सिल्ड र प्रमाणपत्र प्राप्त गरेकी छन् । वैशाख १२ मा विजेता घोषणाको तयारी भए पनि लकडाउनका कारण हुन सकेको थिएन । सोमबार काठमाडौंको चन्द्रागिरिबाट विजेताहरुको नाम अनलाइन घोषणा गरिएको थियो ।
दोस्रो स्थानमा वीरगन्जका श्रेयज सुबेदीको ‘बेजोडा’ शीर्षकको कथा छानिएको छ भने तेस्रो स्थानमा काभ्रे तेमालका दीपेन्द्र दोङ तामाङको कथा ‘बुलेट बाइक’ रहेको छ । दोस्रो र तेस्रो हुने कथाकारलाई क्रमशः ६० हजार र ४० हजार रुपैयाँ प्रदान गरिएको छ ।
यस प्रतियोगितामा भाग लिएका करिब ६ सय प्रतियोगीमध्ये विजयी तीन जनासहित २५ उत्कृष्ट कथाको चयन आख्यानकार तथा पत्रकार नारायण वाग्लेको संयोजकत्वमा रहेको उपन्यासकार अमर न्यौपाने र साहित्यकार बिना थिङ तामाङ समूहको निर्णायक मण्डलले गरेको थियो ।
छानिएका २५ कथाहरूको संगालो ‘उत्कृष्ट कथा २०७७’ पनि बाह्रखरी बुक्सले सार्वजनिक गरेको छ । डिजिटल भर्सनमा निकालिएको सो पुस्तक र सोही पुस्तकको अडियो बुक्स पनि डिजिटल पत्रिका बाह्रखरीको वेबसाइटमा निःशुल्क डाउनलोड गर्न सकिने व्यवस्था गरेको बाह्रखरी बुक्सले जनाएको छ ।