धनगढी, १२ बैशाख । कैलालीको कैलारी गाउँपालिका–२, कुकुरभुक्कामा रहेको गुर्गी सिँचाइ आयोजना निर्माण सम्पन्न गराउन माग गर्दै किसान सङ्घर्षमा उत्रेका छन् ।
सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय मातहतको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले टेन्डर निकाल्न आनाकानी गरिरहेको भन्दै किसानले सङ्घर्षका कार्यक्रम अगाडि बढाएका हुन ।
जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले पानीको स्रोत सुनिश्चितता नभएको बहानाबाजी गर्दै सिँचाइ आयोजना निर्माणका लागि टेन्डर आह्वान गर्न आनाकानी गरिरहेको आरोप किसानको छ ।
सो कार्यालयले हजारौँ किसानसँग सम्बन्धित योजना तुहाउन खोजेकाले सङ्घर्षका कार्यक्रम तय गरेको गुर्गी सिँचाइ आयोजना सङ्घर्ष समितिका संयोजक कमलप्रसाद चौधरीले बताए ।
गुर्गी सिँचाइ आयोजनालाई सुदूरपश्चिम प्रदेश सरकारले बहुवर्षीय योजना अन्तर्गत प्राथमिकतामा राखेर चालु आर्थिक वर्षमा १२ करोड रुपियाँ बजेट विनियोजन गरेको छ तर आर्थिक वर्षको चार महिना मात्रै बाँकी रहँदासम्म टेन्डर नगरी बजेट फ्रिज गर्ने प्रपञ्च भइरहेको किसानको आरोप छ । गुर्गी सिँचाइ आयोजनालाई अगाडि बढाउनका लागि कार्यालयले आनाकानी गरिरहेको संयोजक चौधरीले बताए ।
जिल्लाको पुरानो सिँचाइ आयोजनामध्ये गुर्गी सिँचाइ आयोजनाको बाँध धेरै वर्षपहिले तत्कालीन जमिनदार रामदिन महतो, छिमानन्द र देशराज महतोले आफ्ना रैतीमार्फत बनाएको बताइन्छ ।
त्यसताका माटो र झारपातले मात्रै बाँध बनाएर नदीको पानी किसानको खेतसम्म पु¥याउने कोसिस भएको थियो । २०२६ सालमा ढुङ्गाको बाँध बनाएर खेतसम्म पानी लगिएको थियो ।
आव २०६२÷६३ मा पक्की बाँध बनाइए पनि २०६४ सालमा आएको बाढीले आयोजनाको बाँध भत्काएपछि सो आयोजना हालसम्म अलपत्र अवस्थामा रहेको छ ।
आयोजना बन्द भएर नहरसमेत अतिक्रमण भएपछि कैलारी गाउँपालिका–१, २, ५ र ७ वडाका किसानले सिँचाइ अभाव समस्या झेल्दै आएका छन् । मुख्य पेसा खेतीकिसानी रहेको सो क्षेत्रका किसानले आकाशे पानी र बोरिङको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता रहेको छ ।

यसै बिच किसानहरूले सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा धर्ना दिएका छन् । सिँचाइको लागि सरकारले बर्सेनि बजेट विनियोजन गरे पनि कार्यान्वयन नभएपछि आजित भएका किसानहरूले धर्ना दिएका हुन् । साथै किसानहरूले भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरीलाई योजना कार्यान्वयन लागि अल्टिमेटमसहितको माग पत्र बुझाएका छन् । योजना कार्यान्वयन नभए चरणबद्ध रूपमा सङ्घर्षको कार्यक्रम गर्ने गुरगी योजना सङ्घर्ष समितिका संयोजक चौधरीले चेतावनी दिए ।
सङ्घर्ष समितिका संयोजक चौधरीले भने, ‘यो सरासर जनतालाई ठग्ने प्रवृत्ति हो । करिब ७ हजार जनसङ्ख्या योजना बने लाभान्वित हुन्थे । तर कार्यान्वयन नहुँदा हामी निकै दुःखी भएका छौ । आजको खबरदारी ट्रेलर मात्रै हो, कार्यान्वयन नभए भोलिका दिन जनता उतार्न तयार छौँ ।’

त्यस्तै, कैलाली गाउँपालिका ५ का स्थानीय रेवन्त बोहराले कर्मचारी संयन्त्रले आफूखुसी योजनालाई असफल घोषित गरेर जनता सपनमाथि गद्दारी गरिरहेको बताए । उनले चालु अवको बजेट फिर्ता गए आफूहरू जस्तो सुकै सङ्घर्ष गर्न तयार रहेको बताउँदै काम नगर्ने सिँचाइ विकास डिभिजन कार्यालय कैलाली, मन्त्रालयका सम्बन्धित कर्मचारीको राजीनामा समेत माग गरे ।
त्यस्तै गुरगी बाँध सिँचाइ जल उपभोक्ता संस्थाका अध्यक्ष भीष्मराज चौधरीले डीपीआरको नाममा ठग्ने काम भइरहेको भन्दै आक्रोश व्यक्त गरे । यसैबिच भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरीले आफूले सम्बन्धित निकायसँग बसेर योजनाबारे निकास दिने प्रतिबद्धता जनाएका छन् ।
स्थानीय किसानले ७ दिनभित्र कार्यान्वयनको प्रक्रियामा नगए चरणबद्ध रूपमा सङ्घर्षको कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।