धनगढी, २९ भदौ । कैलालीको धनगढी उपमहानगरपालिका–१७ पथरीमा २५ लाख रुपियाँ लगानीमा बनेको तरकारी संकलन केन्द्र प्रयोगविहीन बनेको छ ।
सुदूरपश्चिम प्रदेश सरकार र धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोगमा बनेको तरकारी संकलन केन्द्र हालसम्म प्रयोगमा आउन नसकेको हो । २०७८ सालमा निर्माण कार्य सम्पन्न भएको तरकारी सङ्कलन केन्द्रमा किसानले तरकारी नदिएपछि प्रयोगमा आउन नसकेको वडा अध्यक्ष माधव रानाले बताए ।
उनका अनुसार निर्माण कार्य सकिएको सुरुवाती समयमा तरकारी सङ्कलन केन्द्रमा समितिले तरकारी सङ्कलनको काम थालेको थियो । तर, सस्तोमा नराख्ने भन्दै किसानले सङ्कलन केन्द्रमा आफ्नो उत्पादन दिन नमानेको जनाइएको छ । वडा अध्यक्ष राना भन्छन्,“पाँच रुपिया सस्तो भएको भन्दै किसानले यहाँ तरकारी राखेनन् । बरु, आफैले धनगढीसम्म लगेर बिक्री गर्न थालेपछि संकलन केन्द्रले किसानको तरकारी पाएन ।”
वडा नम्बर १७ मा पथरी, धुरझन्ना, दमौलिया लगायतका गाउँका किसानले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । दमौलियामा तीन वटा तरकारी पकेट क्षेत्र बनाएर तरकारी खेती गरिएको छ । यसैगरी, पथरी गाउँका ७५ प्रतिशत कृषकले व्यावसायिक तरकारी खेती गर्दै आएको वडा कार्यालयले जानकारी दिएको छ । वर्षभरि तरकारी उत्पादन र बेचबिखन गर्दै आएका किसानलाई बजारीकरणमा सहयोग गर्ने उद्देश्यका साथ तरकारी सङ्कलन केन्द्र बनाइएको थियो ।
पथरीका स्थानीय यज्ञराज चौधरीले सङ्कलन केन्द्र बनाइए पनि सञ्चालन नगरिएको जिकिर गरे । सङ्कलन केन्द्र सञ्चालन भएमा किसानको लागत घट्न गइ अझ बढी फाइदा हुने भन्दै उनले थपे–“सङ्कलन केन्द्र नहुँदा अहिले किसान आफै बजारसम्म पुग्नु पर्ने अवस्था छ । आफ्नो साधन भएकालाई त सजिलै छ । तर, साधन नभएकाले समस्या भोगिरहेका छन् । उत्पादन बजारसम्म पु¥याउँदा उनीहरुको लागत बढिरहेको छ ।”
सुदूरपश्चिम प्रदेश सरकार र धनगढी उपमहानगरपालिकाको सहकार्यमा निर्माण गरिएको सङ्कलन केन्द्र भवन बेकामे बनेको चौधरीले उल्लेख गरे । उनले भने,“यो सञ्चालनमा आएको भए किसानलाई आफ्नो उत्पादन बिक्रीका लागि विहानै बजार पुग्नु पर्ने बाध्यता हुन्थेन । व्यापारीहरुले सङ्कलन केन्द्रबाट आफै उठाएर लग्थे ।”
वडा अध्यक्ष रानाले निकट भविष्यमा तरकारी सङ्कलन केन्द्र प्रयोगमा आउने बताए । उहाँले धनगढी उपमहानगरपालिकाको कार्यालयले निःशुल्क रुपमा किसानको उत्पादन ढुवानी गर्ने भन्दै थप्नुभयो,“संकलन केन्द्रबाट तरकारी ढुवानीका लागि गाडी खरिदको प्रक्रिया अगाडि बढाइएको छ । पालिकाले किसानको उत्पादन निःशुल्क रुपमा बजारसम्म पु¥याइ दिने व्यवस्था गर्दैछ ।”