२९ भाद्र २०८३, सोमबार September 14, 2026

हत्याका दोषीलाई अनुसन्धानको दायरामा ल्याउन माग

२९ भाद्र २०८३, सोमबार
हत्याका दोषीलाई अनुसन्धानको दायरामा ल्याउन माग

धनगढी, २९ भदौ । कैलालीको धनगढी उपमहानगरपालिका–१७ स्थित उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरीको हत्या घटनामा संलग्न थप व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन मृतकका आफन्तले माग गरेका छन् ।
बालकको हत्या मिलेमतोमा भएको जिकिर गर्दै उनीहरुले घटनामा संलग्न सबैमाथि कारबाहीको माग गरेका हुन । पीडित पक्षले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरी तनुजको हत्या गाउँकै एउटा परिवारको मिलेमतोमा २५ वर्षीय खगेन्द्र कठायतले गरेको जिकिर गरेका छन् । घटनामा गाउँकै दिलखुश चौधरी, उनकी श्रीमती शुकनीदेवी र नाबालक छोराको संलग्नता रहेको मृतकका बुबा निमराज चौधरीले बताए । उनका अनुसार घटना हुनुभन्दा अगाडि शुकनीदेवी र खगेन्द्रबिच फोनमा कुराकानी भइरहन्थ्यो ।
चौधरीले भने“असार १० गते उनीहरुले नै घरबाट मेरो छोरालाई बोलाएर मोयाँस्थित रोपाइँ खेतसम्म लैजानू, त्यहाँबाट साँझ खगेन्द्रको हातमा सुम्पिनुले उनीहरुको संलग्नता पुष्टि हुन्छ ।”
पीडित पक्षका अनुसार रोपाइँ गर्ने ठाउँमा दिलखुश, खगेन्द्र र त्यहाँ काम गर्ने अरुले गँगटो र रक्सी खाएका थिए । साँझ घर फर्कने बेलामा अरु फरक फरक बाटो लागे पनि खगेन्द्र, तनुज र दिलखुशका छोरालाई संगै घर फिर्ता पठाएका थिए । यद्यपि, १५ वर्षीय बालक जो मृतकका साथी पनि थिए, उनले तनुजलाई जङ्गलमा खगेन्द्रसंगै छोडेर घर फर्केका पीडित पक्षको भनाइ छ ।
तनुज घर नफर्केपछि अभिभावकले दिलखुश र खगेन्द्रको घरमा पटक–पटक सोधपुछ गरेका थिए । तीन दिनपछि गाउँ नजिकैको सामुदायिक वनमा ढुङ्गाले हिर्काएर वीभत्स हत्या गरिएको अवस्थामा बालकको शव भेटिएको थियो । खगेन्द्रले घटनाको बारेमा दिलखुश र उनकी श्रीमतीलाई पहिले नै जानकारी गराइ सकेको भए पनि उनीहरुले घटना लुकाउने, ढाकछोप गर्ने कार्य गरेको पीडितको आरोप छ ।
मृतककी आमा राधाले छिमेकी परिवारैको संलग्नतामा आफ्नो छोराको हत्या भएको भन्दै उनीहरु सबैलाई कारबाही गर्न माग गरिन् । “मेरो छोराले न्याय पाउनु पर्दछ”, उनले भनिन्,“उनीहरुलाई पक्राउ गरेर तुरुन्त छानबिन प्रक्रिया अगाडि बढाउन माग गर्दछु ।”
धनगढी उपमहानगरपालिका र गौरीगङ्गा जोड्ने सिमानामा रहेको कालिका सामुदायिक वनमा वीभत्स हत्या गरिएको अवस्थामा तनुजको शव भेटिएको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दिलखुश, १५ वर्षीय बालक र खगेन्द्रका बुबा टेक कठायतसहित स्थानीय एक व्यक्तिलाईसमेत सुरुमै पक्राउ गरेको थियो । यद्यपि, हत्यामा संलग्न रहेको पुष्टि हुन नसकेपछि तीन दिनपछि आरोपितहरु छुटेका थिए । खगेन्द्र भने घटनापछि फरार भएका थिए । भारततर्फ भाग्दै गरेको अवस्थाबाट उनलाई पछि प्रहरीले पक्राउ गरेको थियो । हत्याका अभियुक्तलाई पुर्पक्षका लागि जिल्ला प्रहरी कार्यालयले साउनमै कारागार चलान गरिसकेको छ ।
मृतक बालकका हजुर आमा महन्तादेवी चौधरीले दिलखुशको परिवारले आफ्नो नातीलाई खगेन्द्रको हातमा सुम्पिने कार्य गरेकोले उनीहरुमाथि कारबाही हुनु पर्ने माग गरिन् । “हामीले न्याय पाउनु पर्छ”, उनले भनिन् । त्यस्तै, स्थानीय भागीराम चौधरीले घटना हुनुभन्दा अगाडि उनीहरुबिच पटक पटक फोनमा कुराकानी भएकोले मिलेमतोमै घटना घटाइएको जिकिर गरे ।