१३ बैशाख २०८३, आईतवार April 26, 2026

सुदूरपश्चिममा सम्भावनाका थुप्रै आधारहरू छन्-प्रदेश प्रमुख मियाँ

१३ बैशाख २०८३, आईतवार
सुदूरपश्चिममा सम्भावनाका थुप्रै आधारहरू छन्-प्रदेश प्रमुख मियाँ

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेश प्राकृतिक, आर्थिक तथा मानवीय स्रोतसाधनका दृष्टिले समृद्ध भएकाले यहाँ प्रशस्त सम्भावना रहेको बताएका छन् ।

नेपाल वितरक महासङ्घको १४औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै उनले सुदूरपश्चिमलाई “सम्भावनाको खानी” का रूपमा व्याख्या गरे ।

‘यहाँ सम्भावना नै छैन भन्ने धारणा गलत हो, सम्भावनाहीन भन्नु दुर्भाग्यपूर्ण हो’, उनले भने । उनका अनुसार सुदूरपश्चिम प्रदेश सांस्कृतिक, धार्मिक तथा पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण क्षेत्र भएकाले वन–जङ्गल, कृषि र पर्यटन क्षेत्रमा लगानी बढाउन सके उल्लेखनीय प्रतिफल प्राप्त गर्न सकिन्छ।

प्रदेश प्रमुख मियाँले नेपाललाई विगतमा भारतसँग तुलना गर्दै निराशा व्यक्त गर्ने प्रवृत्ति रहेको स्मरण गर्दै अहिले जापान, अमेरिका र अस्ट्रेलियासँग तुलना गरेर नकारात्मक धारणा फैलाउने काम भइरहेको बताए ।

उनले नेपालले छोटो अवधिमै महत्वपूर्ण उपलब्धि हासिल गरिसकेको उल्लेख गर्दै भएका कामभन्दा नभएका कामको बढी प्रचार भइरहेको टिप्पणी गरे ।

उनले स्वदेशमै अवसर सिर्जना गर्न सकिने बताउँदै युवाहरूलाई देशभित्रै लगानी र रोजगारीका सम्भावना खोज्न आग्रह गरे ।

कक्षा १२ पछि युवाहरू विदेशिने बढ्दो प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै उनले यस्तो अवस्था दीर्घकालीन विकासका लागि चुनौतीपूर्ण हुने बताए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमले संघीय सरकारबाट अपेक्षाअनुसार बजेट विनियोजन नहुँदा प्रदेश विकास पछाडि परेको बताए । आवश्यक लगानीको अभावले सम्भावनाहरू पूर्ण रूपमा उपयोग हुन नसकेको उनको भनाइ थियो ।

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले निजी क्षेत्र र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको औंल्याए ।

कार्यक्रममा महासङ्घका वरिष्ठ सल्लाहकार गोविन्द कर्माचार्य, निवर्तमान अध्यक्ष हरिराज पन्त, उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष पुष्प कुँवर, कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्कर ओझालगायतले मन्तव्य राखेका थिए ।

महासङ्घका अध्यक्ष दुर्गा प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रम देशभरका वितरक व्यवसायीहरूको सहभागितामा सम्पन्न भएको थियो । कार्यक्रममा व्यापार, लगानी र बजार व्यवस्थापनसम्बन्धी विषयमा समेत छलफल गरिएको थियो ।