२९ फाल्गुन २०८२, शुक्रबार March 13, 2026

कैलालीमा मेसिनद्वारा चैते धान रोपाइँ

२७ फाल्गुन २०८२, बुधबार
कैलालीमा मेसिनद्वारा चैते धान रोपाइँ

धनगढी, २७ फागुन । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ४, कञ्चनपुरमा मेसिनद्वारा चैते धान रोपाइँ सुरु गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ कैलालीको आयोजनामा धान रोपाइँ कार्यक्रम गरिएको हो । बुधबार एक कार्यक्रमका बिच कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले उक्त मेसिनले धान रोपाइँ कार्यक्रमको उद्घाटन गरेका हुन् ।
सोही अवसरमा मन्त्री परियारले यस वर्ष मुलुकमा मलखादको अभाव नहुने बताएका छन् । “मलखादको अभाव हुन नदिन सरकारले समयमै २९ अर्ब रुपियाँ अनुदान निकासा गरिसकेको छ,” मन्त्री परियारले भने, “अन्तर्राष्ट्रिय परिवेशले असर नपारे यस वर्ष मलको अभाव हुँदैन, साथै प्राङ्गारिक मलको प्रयोगका लागि पनि तयारी अवस्थामा रहौँ ।” उनले मेसिनको प्रयोगले श्रमशक्ति र लागत घटाउने भएकाले कृषि यान्त्रिकीकरणले यस क्षेत्रलाई नयाँ दिशा दिने विश्वास पनि व्यक्त गरे ।
परियोजना कार्यान्वयन एकाइ कैलालीका कृषि अधिकृत भीष्मराज रेग्मीले यस पटक बर्दियामा रहेको मेसिनबाट धान रोपाइँ गरिएको र सहकारीलाई १६ लाख ५० हजार रुपियाँ मूल्य पर्ने मेसिन खरिद गरेर दिने तयारी भइरहेको जानकारी दिए ।
धान रोपाइँ तथा अन्तरनिकाय अनुगमन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, जिल्ला समन्वय समितिका प्रमुख टीकाकुमारी भुल, भजनी नगरपालिकाका प्रमुख केवल चौधरी र जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीलगायतका जनप्रतिनिधिको उपस्थिति थियो ।
एकाइले कैलालीमा पहिलो पटक चैते धान रोपाइँका लागि मेसिन भित्र्याएको हो । यहाँस्थित बीजबृद्धि कृषि सहकारी संस्थाको दुई बिघा जमिनमा मेसिनबाट चैते धान लगाइएको छ ।