१८ बैशाख २०८३, शुक्रबार May 1, 2026

मतदातालाई धन्यवाद दिन पुगेका जोशीलाई बधाई सहित ज्ञापनपत्र

२५ फाल्गुन २०८२, सोमबार
मतदातालाई धन्यवाद दिन पुगेका जोशीलाई बधाई सहित ज्ञापनपत्र

धनगढी, २५ फागुन । प्रतिनिधी सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ का विजयी उम्मेदवार जगत प्रसाद जोशीलाई गाउँघरका स्थानीयले बधाई सहित आफ्नो गाउँठाउँको समस्या सम्बोधन गर्न माग गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी भएका जोशीले आफ्नो क्षेत्रका मतदाताहरुलाई धन्यवाद दिन पुगेका बेला उनलाई बधाई सहित गाउँठाउँको समस्या सम्बोधनका लागि ज्ञापनपत्र समेत बुझाएका छन् ।


आइतबार कैलारी गाउँपालिका वडा नम्बर ७ को विभिन्न गाउँमा पुगेका उनलाई त्यहाँका स्थानीयले बधाई सहित आफ्नो गाउँघरको समस्या सुनाउँदै ज्ञापनपत्र समेत बुझाएका छन् । भुईयाफाँटाका स्थानीयले उनलाई मुख्यगरि लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको जग्गाधनी प्रमाणपत्र उपलब्ध हुनु पर्ने, सिँचाईका लागि विद्युत विस्तार सहित पाँच कठ्ठा भएका किसानलाई पनि विद्युत मिटर उपलब्ध हुनुपर्ने माग सहित ज्ञापनपत्र बुझाएको गाउँका भलमन्सा फिरु चौधरीले जानकारी दिए ।
यसका साथै उनले कटैनी पुलदेखि पुरानो भुँइयाँफाँटासम्म कृषि बाटोमा ग्राभेल र मोहना नदिमा निर्माण भएको झोलुङ्गे पुल कटानको जोखिममा रहेकोले तटबन्ध निर्माण लगायतका माग सहित ज्ञापनपत्र बुझाएको भलमन्सा चौधरीले जानकारी दिए ।

त्यसैगरि रामपुर गाउँका स्थानीयले पनि उनलाई बधाई सहित ज्ञापन पत्र बुझाएका छन् । गाउँका भलमन्सा रामलाल चौधरीका अनुसार गाउँको प्रत्येक सडकमा पानी पिच सहित ढल निकास हुनु पर्ने, निर्माण भएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकेको भुँइयाफाँटा खानेपानी सञ्चालन हुनुपर्ने, रामपुरदेखि हौसलपुरसम्म कृषिबाटोमा पानीपिच हुनुपर्ने, खेतमा विद्युत विस्तार सहित कृषि मिटर र हौसलपुरदेखि विपतपुरसम्म जनता तटबन्ध कार्यक्रम, रामपुर र विपतपुरको बिचमा रहेको देउखरिया साँघु रहेको ठाउँमा झोलुङ्गे पुल निर्माणको माग सहित ज्ञापन पत्र बुझाएको भलमन्सा चौधरीले जानकारी दिए ।


त्यसैगरि बसन्ता, बैजपुर, मनकापुर र छोटीपलिया गाउँका स्थानीयले समेत बधाई सहित गाउँघरको समस्या दर्शाउँदै सम्बोधनका लागि अनुरोध गरेका छन् । निर्वाचन सम्पन्न भएपछि जोशीले गाउँ–टोलमा पुगेर शुभेच्छुक, समर्थक तथा मतदाताहरूसँग भेटघाट गर्दै उनीहरुलाई धन्यबाद सहित उनीहरुको समस्या बुझिरहेका छन् ।


यहि फागुन २१ गते भएको प्रतिनिधी सभा सदस्यका लागि जोशीले २० हजार ३५९ मत प्राप्त गरी विजयी भएका हुन् । जोशीका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार बिरमान चौधरीले ११ हजार ९८३ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार भिमबडुवालले नौहजार ७१० मत पाएका छन् । त्यसैगरी नेकपा (एमाले) का उम्मेदवार गौरीशंकर चौधरीले चार हजार ७५२ मत पाएका छन् ।
भजनी नगरपालिका वडा नम्बर ३ को २०७४ र २०७९ मा वडा अध्यक्षमा बिजयी भएका नागरिक उन्मुक्ति पार्टी नेपालका बिक्रम चौधरीले ६७४७ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका बिरेन्द्रबहादुर बमले दुईहजार ३४७ मत पाएका छन् ।