धनगढी, २४ फागुन । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कैलाली जिल्लामा क्लिन स्वीप गरेको छ । जिल्लाका ५ वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू विजयी हुँदै क्लिन स्वीप गरेका हो ।
कैलाली क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार कोमल ज्ञवाली विजयी भएकी छन् । ज्ञवालीले १७ हजार ८२६ मत प्राप्त गरी विजयी भएकी हुन् ।
ज्ञवालीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीले १२ हजार ९४५ मत प्राप्त गरेका छन् । २०७० सालमा संविधान सभाको सदस्य निर्वाचित भएका चौधरी सङ्घीय मििामला तथा सामान्य प्रशासन राज्यमन्त्री पनि बनेका थिए । उनले हाल नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापति समेत हुन् ।
टीकापुर नगरपालिकाको नगर प्रमुखको पदबाट राजीनामा दिएर नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका रामलाल डंगौराले आठ हजार ३९२ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार द्वारिकाप्रसाद न्यौपानेले चार हजार ४९३ मत पाएका छन् ।
राष्ट्रिय योजना आयोगको सदस्य समेत रहिसकेका प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार डा. जनकराज शाहले २१७ मत पाएका छन् । यहाँ ५९ हजार ६१ मत खसेको थियो ।
तत्कालिन नागरिक उन्मुक्ति पार्टीका संस्थापक केन्द्रीय कोषाध्यक्ष ज्ञवाली निर्वाचन अघि मात्रै रास्वपा प्रवेश गरेका हुन् । व्यवस्थापन विषयमा स्नातक ४७ वर्षीया ज्ञवाली व्यापारमा संलग्न रहेकी छन् ।
निर्वाचन क्षेत्र नम्बर २ बाट रास्वपाका केपी खनाल विजयी भएका छन् । उनले १९ हजार ५७ मत ल्याएर विजयी भएका हुन् । उनका निकतम प्रतिस्प्रधी नागिरक उन्मुक्ति पार्टी नेपालका पतिराम चौधरी ११ हजार ९४९ मत पाएका छन् ।
त्यसैगरी नेकपा एमालेका सुर्य बहादुर थापा सात हजार ८८६ मत, नेपाली कांग्रेसका विजय बहादुर स्वाँर सात हजार २१३ मत, नेपाली कम्युनिष्ट पार्टीका नन्द बहादुर साउँद चार हजार ३६९ मत ल्याएका छन् । यस क्षेत्रबाट १५ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका थिए ।
निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगतप्रसाद जोशी विजयी भएका छन् । जोशीले २० हजार ३५९ मत प्राप्त गरी विजयी भएका हुन् ।
जोशीका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार बिरमान चौधरीले ११ हजार ९८३ मत प्राप्त गरेका छन् । २०६४ सालमा संविधान सभाको सदस्य निर्वाचित भएका चौधरी २०७४ सालको सुदूरपश्चिम प्रदेश सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ (क) बाट तत्कालिन नेकपा (माओबादी) बाट चुनाव जितेका थिए ।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार भिमबडुवालले नौहजार ७१० मत पाएका छन् । उनले प्रतिनिधि सभाका लागि कांग्रेसबाट नयाँ अनुहार थिए । त्यसैगरी नेकपा (एमाले) का उम्मेदवार गौरीशंकर चौधरीले चार हजार ७५२ मत पाएका छन् ।
दुई पटक प्रतिनिधि सभा र एकपटक संविधान सभा निर्वाचनमा उम्मेदवार बनेका भएका चौधरीको प्रतिनिधि सभामा यो दोस्रो पराजय हो । भजनी नगरपालिका वडा नम्बर ३ को २०७४ र २०७९ मा वडा अध्यक्षमा बिजयी भएका नागरिक उन्मुक्ति पार्टी नेपालका बिक्रम चौधरीले ६७४७ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका बिरेन्द्रबहादुर बमले दुईहजार ३४७ मत पाएका छन् ।
उनले २०७९ सालको प्रतिनिधि सभामासमेत उम्मेदवार बनेका थिए । यहाँ ६० हजार २९४ मत खसेको निर्वाचन अधिकृत पुष्कलराज पर्साइले जानकारी दिए ।
निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खेमराज कोइराला १७ हजार २५५ मतान्तरले विजयी भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार कोइराला २८ हजार ५५६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोरखबहादुर विष्टले ११ हजार ३०१ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, नेकपा (एमाले) का लेखराज भट्टले ९ हजार ४४४ मत, नेपाल कम्युनिस्ट पार्टीका हरिराम चौधरीले ५ हजार ६०९ मत तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कमल रजवारले १ हजार ३५८ मत प्राप्त गरेका छन् ।
कुल १ लाख १५ हजार १४३ मतदाता रहेको यस क्षेत्रमा प्रत्यक्षतर्फ ६१ हजार ९४१ मत खसेको थियो । त्यसमध्ये ३ हजार ६६५ मत बदर भएको छ भने ५८ हजार २८३ मत सदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार आनन्दबहादुर चन्द विजयी भएका छन् । उनी ३१ हजार ९५३ मत पाउँदै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नरनारायण शाहले ११ हजार ९५८ मत पाएका छन् ।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका प्रेमबहादुर आलेले सात हजार ८७६ र नेकपा एमालेका यज्ञराज ढुङ्गानाले पाँच हजार ८३९ मत पाएका छन् । कैलाली ५ मा ६५ हजार ९६३ मत खसेको थियो । यो क्षेत्रमा अधिकांश निर्वाचन कांग्रेसले जित्दै आएको छ । ०७० सालको संविधानसभा, ०७१ सालको उपनिर्वाचन र ०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।