धनगढी, १७ फागुन । हमार चैनार समूहको आयोजनामा “चैनार होरी मिलन कार्यक्रम” सम्पन्न भएको छ ।
समूहका अध्यक्ष मुन्नालब कुस्मीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि थारु अगुवा माधव थारु रहेका थिए । कार्यक्रमका अतिथिहरुमा जित ट्रासन, भिम बिष्ट, हेमन्ता भट्टराई तथा उन्नति चौधरी लगायत रहेका थिए । कार्यक्रमका सहभागीहरुले होरी मिलन कार्यक्रम मार्फत थारु कला, संस्कृति र परम्परालाई जगेर्ना गर्नमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा गायक राजु चौधरी राजले होली सम्बन्धी थारु गीत प्रस्तुत गर्दै सम्पूर्ण उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । उनको प्रस्तुतीमा दर्शकहरु झुमेका थिए भने कार्यक्रम स्थल नै सांगीतिक माहोलले रंगिएको थियो ।
कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, शुभकामना आदान–प्रदान, रंग अबिर साटासाट तथा आपसी भेटघाटका कार्यक्रमहरु समेत भएको थियो ।
कार्यक्रमको सञ्चालन तथा कार्यक्रमबारे समूहका सदस्य अनिल कुश्मीले जानकारी गराएका थिए । कार्यक्रममा स्वागत मन्तव्य गोबिन्द मुखियाले गरेका थिए ।